महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–७ स्थित दनौलीमा सोमबार दिउँसो एक अज्ञात महिलाको शव फेला परेको छ। शव स्थानीय अशोक ठाकुरको आँपको बगैँचासँगैको डिलमा भेटिएको हो।
महोत्तरी प्रहरीले दिएको जानकारी अनुसार अन्दाजी २५/२६ वर्षकी ती महिलाको अनुहार जलाइएको अवस्थामा भेटिएको छ। तर उनको पहिचान अहिलेसम्म खुलेको छैन। महोत्तरी प्रहरीका प्रवक्ता सन्तुलाल जयसवारका अनुसार शव कालो लेगिज र हल्का पहेँलो कुर्थीमा भेटिएको थियो।

शवको अवस्था हेर्दा जलाएर हत्या गरिएको आशंका गरिएको छ। शव फेला परेको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए, जसको आधारमा महोत्तरी प्रहरीका प्रहरी उपरीक्षक नकुल पोखरेलको टोली घटनास्थलमा पुगेको थियो। पहिचान स्पष्ट नभएपछि अनुसन्धानलाई सघाउन कुकुरको पनि प्रयोग गरिएको बताइएको छ।
महिलाको शवलाई थप अनुसन्धान र पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ।


