बीरगंज, १४ माघ — आउँदो फागुन २१ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा महिला उम्मेदवारबीच प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ। प्रमुख दल एमाले र राप्रपाले यस क्षेत्रबाट महिलालाई उम्मेदवार बनाउँदै चुनावी मैदानमा उतारेका हुन्।
राप्रपाले प्रत्यक्षतर्फ बिना जयसवाललाई उम्मेदवार बनाएको छ। यसअघि समानुपातिक सांसदका रूपमा संसद्मा सक्रिय भूमिका निर्वाह गरिसकेकी जयसवाल तार्किक बहस, अध्ययनशील स्वभाव र स्पष्ट अभिव्यक्तिका कारण परिचित छन्। युवामाझ राम्रो छवि बनाएकी उनको उपस्थिति कारण यो निर्वाचन थप चासोको विषय बनेको स्थानीय विश्लेषकहरूको भनाइ छ।
यता एमालेले यसपटक परम्परागत पार्टी संरचनाभन्दा फरक ढंगले उम्मेदवार चयन गरेको बताउँदै रिमा कुमारी यादवलाई अघि सारेको छ। राजनीतिमा नयाँ अनुहार भए पनि स्वच्छ छवि, जेन्जी उमेर समूहको प्रतिनिधित्व र वर्तमान समयको मागअनुसारको उम्मेदवार भएकाले यादवलाई अघि बढाइएको एमालेको दाबी छ।
एमालेका केन्द्रीय सदस्य तथा पूर्व नगर प्रमुख विजय कुमार सरावगीका अनुसार पार्टीको आवश्यकता र जनताको अपेक्षा बुझेर उम्मेदवार चयन गरिएको हो। उनले पर्सा–२ मा एमालेले बलियो जित निकाल्ने विश्वास व्यक्त गरेका छन्।
महिला उम्मेदवारबीचको यो प्रतिस्पर्धाले पर्सा–२ को चुनावलाई रोमाञ्चक बनाउने अनुमान गरिएको छ।


