काठमाडौं, पुस ८
खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालय अन्तर्गतका सबै निकायलाई हालसम्मको प्रगति र कामको विवरण मन्त्रालयमा पेश गर्न निर्देशन दिनुभएको छ।

आज मन्त्रालयमा सम्पन्न उच्च व्यवस्थापन समूहको बैठकमा मन्त्री यादवले खानेपानी क्षेत्रमा भइरहेको कामको यथार्थ विवरण सहितको प्रगति प्रतिवेदन लिखित रूपमा पेश गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “खानेपानीका क्षेत्रमा के कति प्रगति भएको छ? कति काम अझै बाँकी छन्? यसको स्पष्ट विवरण पेश गर्नुहोस्। यसैका आधारमा आगामी कार्ययोजना तयार पार्न सजिलो हुनेछ।”

मन्त्री यादवले कतिपय आयोजनाका काम समयमै सम्पन्न हुन नसकेको बताउँदै त्यसको कारण स्पष्ट गर्न पनि निर्देशन दिनुभयो। “तोकिएको समयमा काम सम्पन्न गर्न नसक्नुका कारण र चुनौतीबारे तथ्यपूर्ण जानकारी उपलब्ध गराउन आवश्यक छ,” उहाँले भन्नुभयो।
उहाँले जनतासँग प्रत्यक्ष जोडिने खानेपानीका कामलाई प्रभावकारी बनाउन जोड दिँदै भन्नुभयो, “हामीले गरेको कामको प्रभाव नागरिकले महसुस गर्नुपर्नेछ। शुद्ध र सफा खानेपानी वितरणमा कुनै सम्झौता हुन सक्दैन।”
खानेपानी लिकेज भएका पाइपको मर्मत तथा भत्किएका पाइप पुनःस्थापना गर्न सम्बन्धित निकायलाई जिम्मा दिन निर्देशन गर्दै मन्त्री यादवले अगाडि भन्नुभयो, “खानेपानी वितरणमा कुनै अवरोध भएमा तुरुन्त मन्त्रालयलाई जानकारी दिनुहोस्। यस्तो समस्या समाधानका लागि मन्त्रालय तत्पर रहनेछ।”
बैठकमा मन्त्रालयका सचिव प्रमीलादेवी शाक्य बज्राचार्यसहित विभिन्न विभागका प्रमुख तथा पदाधिकारीहरूले आफ्नो कार्यालयका प्रगति विवरण प्रस्तुत गर्नुभयो।
मन्त्री यादवले प्रत्येक महिना उच्च व्यवस्थापन समूहको नियमित बैठक राखेर प्रगति समीक्षा गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभयो। यसले कार्यान्वयनको गति र गुणस्तरमा सुधार ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
मन्त्रालयले आगामी दिनमा प्रभावकारी योजनाको कार्यान्वयन गर्दै जनतालाई शुद्ध खानेपानी वितरणलाई सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


