वीरगन्ज — मधेस प्रदेशका पूर्व निर्वाचित जनप्रतिनिधि दुई जना नेताहरू सोमबार नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० मा आबद्ध भएका छन्। प्रदेशसभा सदस्य र स्थानीय तहका नेतृत्व सम्हालिसकेका यी नेताहरूको प्रवेशलाई पार्टीले राजनीतिक सुदृढीकरणका रूपमा लिएको छ।
२०७४ सालको निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ ९ख० बाट मधेस प्रदेशसभामा निर्वाचित भएका प्रहलाद गिरि र सोही वर्ष सम्पन्न स्थानीय तहको चुनावमा बिन्दवासिनी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका श्रीलाल साह कानु ९मोदी० औपचारिक रूपमा नेकपामा प्रवेश गरेका हुन्।
गिरि तत्कालीन उपेन्द्र यादव नेतृत्वको दलबाट प्रदेशसभा सदस्य बनेका थिए भने हालै सम्पन्न नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारसमेत बनेका थिए। यस्तै, मोदी पनि उपेन्द्र यादवकै दलबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका नेता हुन्।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता मातृका प्रसाद यादवलगायतका शीर्ष नेताहरूले नवप्रवेशीहरूलाई अबिर–टीका लगाएर पार्टीमा स्वागत गरे। कार्यक्रममा बोल्दै नेताहरूले जनताको भरोसामा राजनीति गर्न सबैलाई एकताबद्ध हुन आग्रह गरेका थिए।
पार्टी प्रवेशसँगै गिरि र मोदीले सामाजिक न्याय, समावेशिता र विकासका मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेकपामा उनीहरूको प्रवेशले मधेस राजनीतिमा नयाँ सन्देश गएको विश्लेषण गरिएको छ।


