७ पुस, काठमाडौं । अघिल्लो निर्वाचनको तुलनामा यसपटक देशभर मतदाताको संख्या उल्लेखनीय रूपमा बढेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार मतदाता संख्या ५.६५ प्रतिशतले वृद्धि भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी सर्वपक्षीय छलफलका क्रममा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रस्तुतिकरण गर्दै मतदाता वृद्धिको जानकारी दिएका हुन्। आयोगका अनुसार हाल देशभर दर्ता भएका मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ।
२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला कुल मतदाता संख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको थियो। त्यसयता १० लाख १६ हजार ७५४ नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ।
नयाँ थपिएका १० लाखभन्दा बढी मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक मतदान गर्ने अवसर पाउनेछन्। मतदाता संख्यामा भएको यो वृद्धि लोकतान्त्रिक सहभागिताको दायरा विस्तार भएको संकेतका रूपमा लिइएको छ।


