कलैया, असार १७ – मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–५ स्थित कटहरे क्षेत्रबाट ठूलो परिमाणमा गाँजा बरामद गर्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र पालुङस्थित इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले ५४ बोरा गाँजा बरामद गर्दै सोही स्थानका चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ७३ वर्षीय हरि बहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले र १९ वर्षीय राजेन्द्र लामा छन्।
प्रहरीका अनुसार उनीहरूका साथै सोही गाउँका गोकर्ण पौडेल, मान बहादुर मोक्तान र सोमलाल गोलेको घरमा पनि छापा मारिएको थियो। छापाको क्रममा जम्मा १,७४२ किलो २५० ग्राम गाँजा फेला परेको हो।
हाल गोकर्ण, मान बहादुर र सोमलाल फरार रहेको र उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। यस घटनासम्बन्धी थप अनुसन्धान पनि भइरहेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले गाँजा तस्करीमा संलग्न रहेको अनुमान गरिएका अन्य व्यक्तिहरूबारे पनि खोजी भइरहेको जानकारी दिएको छ।


