वीरगञ्ज । भोजपुरी भाषा–साहित्यका अग्रणी सर्जक, लोकनाट्यका प्रख्यात साधक तथा ‘भोजपुरीका शेक्सपियर’ भनेर चिनिने भिखारी ठाकुरको १३७औँ जन्मोत्सवका अवसरमा भोजपुरी प्रतिष्ठान, वीरगञ्जद्वारा विशेष काव्य गोष्ठी सम्पन्न भएको छ।
वीरगञ्ज–८ स्थित प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा साहित्यकार, कलाकार तथा भाषा–संस्कृतिप्रेमीहरू एकत्रित भई भिखारी ठाकुरको जीवन, संघर्ष र समाज रूपान्तरणमा उनले खेलेको भूमिकामाथि गहन विमर्श गरे। उनका नाटक, गीत र रचनामा देखिने सामाजिक चेतना, लोकजीवनको यथार्थ चित्रण र भाषिक योगदानबारे वक्ताहरूले आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा कविता, गीत र मुक्तक वाचनमार्फत ठाकुरको बहुआयामिक व्यक्तित्व, लोकसंस्कृतिप्रतिको समर्पण र भोजपुरी साहित्यमा उनले पुर्याएको अमूल्य योगदानलाई स्मरण गरियो। साहित्यिक प्रस्तुतिले कार्यक्रमलाई भावनात्मक र सृजनात्मक बनाएको सहभागीहरूको भनाइ थियो।
प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार गोपाल अश्क, दिनेश गुप्ता, प्रमोद पाण्डेय, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, रतुराज पटेल, अजमत अलीसहित साहित्यकार छोटेलाल साह, साविर अंसारी, अस्मिता पटेल, सदस्य सचिव अमित अग्रवाल तथा सदस्यहरू मुकेश महतो, अजय चौरसिया लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
वक्ताहरूले भिखारी ठाकुरको तस्बिरमा पुष्प तथा अविर अर्पण गर्दै भोजपुरी भाषा, संगीत, नाटक र लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उनको योगदान आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी रहेको उल्लेख गरे।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका अमोद गुप्ताले गरेका थिए।


