
वीरगन्ज, ९ जेठ — भोजपुरी भाषाको संरक्षण र प्रवर्द्धनमा सक्रिय भोजपुरी प्रतिष्ठान वीरगन्जले “आपन भाषा, आपन पहचान” शीर्षकको अभियान सुरु गरेको छ। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई मातृभाषाको महत्वबारे जानकारी दिने उद्देश्यले सुरु गरिएको उक्त अभियानको पहिलो कार्यक्रम वीरगन्जस्थित कन्या माध्यमिक विद्यालयमा सम्पन्न भयो।
कार्यक्रममा भोजपुरी प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा भएको उक्त भेलामा प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले भोजपुरी भाषाको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पार्दै मातृभाषा पहिचान र संस्कृति बोकेको मूल आधार भएको बताएका थिए। उनले विद्यार्थीहरूलाई मातृभाषाको सम्मान र प्रयोगमा गर्व महसुस गर्न प्रेरणा दिएका थिए।
सदस्य मुकेश महतो नुनियाले भोजपुरी लोकचित्रकलाको अभ्यास गराउँदै विद्यार्थीहरूलाई चित्रकला सम्बन्धी व्यवहारिक जानकारी दिए। उनले लोककला संरक्षणमा बालबालिकाको रुचि बढाउनु आवश्यक रहेको बताए। अर्का स्रष्टा आमोद गुप्ताले आफ्नै रचना सुनाउँदै कविता र गीतमार्फत भोजपुरी भाषाको सौन्दर्य प्रस्तुत गरे।
श्याम सर्राफले मातृभाषा बोल्न लाज मान्नु हुदैन भन्दै युवाहरूले लोक धुन र गीतको संरक्षणमा हातेमालो गर्नुपर्ने धारणा राखे। कार्यक्रमको सञ्चालन माधुरी महतोले गरेकी थिइन्। कार्यक्रममा झण्डै ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।