A partially damaged wall of the Neelum Jhelum Hydropower Project is pictured following Indian strikes in Nausari, about 40kms from Muzaffarabad, the capital of Pakistan-administered Kashmir, on May 8, 2025. India and Pakistan accused each other on May 8 of carrying out waves of drone attacks, as deadly confrontations between the nuclear-armed foes drew global calls for calm. Pakistan's army said it shot down 25 Indian drones, while New Delhi accused Islamabad of launching overnight raids with "drones and missiles", and claimed it destroyed an air defence system in Lahore. (Photo by Sajjad QAYYUM / AFP)
२६ वैशाख, काठमाडौं — भारत र पाकिस्तानबीच पछिल्ला दिनमा चर्किएको तनावका कारण सीमावर्ती क्षेत्रका नेपाली विद्यार्थीहरू त्रासमा परेका छन् । लाहोर, फैसलावाद, कराँची, सियालकोटदेखि भारतको हिमाञ्चलसम्म रहेका नेपाली विद्यार्थीहरू सुरक्षाको डरले पढाइ छोडेर स्वदेश फर्कन चाहिरहेका छन् ।
पाकिस्तानको लाहोरमा अध्ययनरत एक नेपाली विद्यार्थीले अनलाइनमार्फत आफ्नो पीडा सुनाउँदै भने, “रात बिताउन गाह्रो छ, ड्रोनको आवाज, साइरन र बमजस्तै आवाजहरू निरन्तर सुनिन्छ । हामी विद्यार्थी हौं, युद्धमा संलग्न छैनौं, तर डरले बाँच्नै गाह्रो छ ।”
उनका अनुसार भारत–पाकिस्तानको तनावपछि विश्वविद्यालयहरू बन्द भएका छन् । धेरै नेपाली विद्यार्थी टिकट खोज्दै फिर्तीको बाटो हेरे पनि हवाइ सेवा सहज नभएको गुनासो छ । “लाहोरमा मात्र करिब २ सय नेपाली विद्यार्थी छन्,” उनले भने, “सबैजना स्वदेश फर्कन चाहिरहेका छौं ।”
भारतको हिमाञ्चल प्रदेशस्थित चित्कारा विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थीसमेत त्रासमा छन् । “हामी अध्ययन गर्न आएका थियौं, अहिले बाँच्ने चिन्ताले थिचिएको छौं,” विश्वविद्यालयका विद्यार्थी सञ्जय गुप्ताले भने, “प्राध्यापक, कर्मचारी त छाडेर गइसके । हामी केवल केही वार्डेन र मेसका स्टाफसँग बाँकी छौं ।”
पञ्जाब, चण्डीगढ र हिमाञ्चल क्षेत्रका विश्वविद्यालयहरूमा रहेका विद्यार्थीहरू लगातार घर फोन गरेर सहयोग मागिरहेका छन् । तर, न हवाइ टिकट पाइरहेका छन्, न त भारतभित्र गाडी चढ्न सजिलो भएको छ । “बसपार्कमा भिड छ, दोब्बर भाडा तिरेर पनि गाडी पाइँदैन,” अर्को विद्यार्थीले बताए ।
नेपालस्थित परराष्ट्र मन्त्रालयले भने पाकिस्तान र भारतमा रहेका नेपाली विद्यार्थीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । मन्त्रालयका अनुसार इस्लामाबादस्थित नेपाली दूतावासले विद्यार्थीहरूको अवस्थाबारे बुझी समन्वय गरिरहेको छ ।
दूतावासकी सचिव वृन्दा सुवेदी खड्काले भनिन्, “विद्यार्थीहरू त्रासमा हुनुहुन्छ, तर हामी निरन्तर सम्पर्कमा छौं । सुरक्षित फिर्तीका लागि नेपाल सरकारसँग समन्वय भइरहेको छ ।”
विद्यार्थीहरूले सरकारलाई एक स्वरमा आग्रह गरेका छन् — “हामीलाई सुरक्षित रूपमा नेपाल फर्काउने वातावरण बनाइदिनुहोस् ।”


