वीरगञ्ज, वैशाख २८ — भारत र पाकिस्तानबीचको हालको सीमापार तनावपछि भारतीय वायु सेनाले सञ्चालनमा ल्याएको गोप्य सैन्य अभियान ‘अपरेसन सिन्दूर’ अझै पनि जारी रहेको पुष्टि गरिएको छ।
भारतीय वायु सेनाले आइतबार सार्वजनिक गरेको एक विज्ञप्तिमा यो अपरेसन राष्ट्रिय सुरक्षा रणनीतिको हिस्सा भएको र अत्यन्त व्यावसायिक ढंगले अघि बढाइएको जनाइएको छ। सेनाले अभियानको विस्तृत विवरण हाललाई गोप्य राखिएको बताउँदै, सफलता प्राप्त भएपछि मात्र सबै विवरण सार्वजनिक गरिने स्पष्ट पारेको छ।
यो विज्ञप्ति भारत–पाकिस्तान सीमामा केही दिनअघि भएको सैन्य संघर्षपश्चात दुबै देशबीच भएको युद्धविराम सम्झौताको भोलिपल्ट आएको हो।
विज्ञप्तिमा भनिएको छ, “अपरेसन सिन्दूर सावधानीपूर्वक, रणनीतिक ढंगले र राष्ट्रहितका लागि सञ्चालन भइरहेको छ। यस अभियानबारे अनुमानका भरमा समाचार प्रकाशन नगर्न हामी सबै पत्रकार साथीहरू र नागरिकलाई आग्रह गर्दछौं।”
भारतीय वायु सेनाले हालको संवेदनशील अवस्थामा सूचना प्रवाह गर्दा संयमता र जिम्मेवारी अपनाउन सबैलाई अपिल गरेको छ। अपुष्ट वा अडकलका आधारमा समाचार प्रकाशित वा सामाजिक सञ्जालमा फैलाइएमा त्यसले क्षेत्रीय सुरक्षामा नकारात्मक असर पार्न सक्ने चेतावनी पनि सेनाले दिएको छ।
सैन्य अभियानबारे औपचारिक जानकारीपछि खुलासा गरिने
‘अपरेसन सिन्दूर’ सम्बन्धी विस्तृत विवरण हाल गोप्य राखिएको भए पनि, यसले सीमावर्ती क्षेत्रमा जारी सुरक्षाजन्य गतिविधिहरूमा गहिरो प्रभाव पारिरहेको अनुमान गरिएको छ।
भारतीय वायु सेनाको भनाइ अनुसार, “अभियान पूर्णतः अन्त्य भएपछि मात्र तथ्यगत जानकारी सार्वजनिक गरिनेछ, त्यसअघि जथाभावी अड्कलबाजी गर्नु राष्ट्रहितविपरीत हुनेछ।”


