नयाँ दिल्ली — भारतले पाकिस्तानका १६ युट्युब च्यानलमाथि सोमबार प्रतिबन्ध लगाएको छ। प्रतिबन्धित च्यानलहरूमा डन न्यूज, समा टिभी र जिओ न्यूजजस्ता चर्चित मिडिया पनि परेका छन्।
भारतीय सञ्चार मन्त्रालयका अनुसार ती च्यानलहरूले भारत र यसको सुरक्षा निकायहरूप्रति झूठा र भ्रामक समाचार प्रवाह गर्दै आएको पाइएपछि यो कठोर निर्णय गरिएको हो। गृहमन्त्रालयको सिफारिसमा अघि बढाइएको यो कदमलाई सरकारका उच्च अधिकारीहरूले राष्ट्रिय सुरक्षाका लागि अनिवार्य कदम भनेका छन्।
यसबाहेक, प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहबीच राष्ट्रिय सुरक्षालाई लिएर एक आपतकालीन बैठक बोलाइएको छ। सो बैठकमा जम्मू–कश्मीरको पछिल्लो सुरक्षापरिस्थितिको समीक्षा गरिने जनाइएको छ।
त्यहीक्रममा, जम्मू–कश्मीर प्रहरीले आतंकवादी गतिविधिमा संलग्न ठानिएका १५ स्थानमा छापा मारेको छ। प्रहरी स्रोतले पाकिस्तानबाट सञ्चालन भइरहेका आतंकवादी सञ्जालमाथि कारबाही गरिएको बताएको छ।
यसैबीच, पहलगाम क्षेत्रमा भएको आतंकवादी आक्रमणपछि सीमा क्षेत्रमा चौथो दिन पनि पाकिस्तानी सेनाले गोलीबारी जारी राखेको छ। भारतीय पत्रिका दैनिक भास्करका अनुसार आइतबार राति र सोमबार बिहानै पनि सीमा क्षेत्रमा गोली चलेको र भारतीय सुरक्षाफौजले जवाफी कारबाही गरेको खबर छ।
२२ अप्रिलमा पहलगामको बेसरन घाटीमा भएको आक्रमणमा २६ जना पर्यटकले ज्यान गुमाएका थिए। त्यसयता, जम्मू–कश्मीर क्षेत्रमा १० वटा आतंकवादीहरूका घरमा विस्फोट गराइएको छ।
आक्रमण अनुसन्धानका लागि एनआईए (नेशनल इन्भेस्टिगेसन एजेन्सी) सक्रिय रहेको छ। प्रारम्भिक अनुसन्धानले आक्रमण योजनाको तयारीमा आतंककारीहरूले ड्रोनको प्रयोग गरी रेकी गरेको देखाएको छ। हतियार आपूर्ति पनि ड्रोनमार्फत गरिएको हुन सक्ने आशंका गरिएको छ।
आक्रमणपछि आतंककारीहरू पुलवामा वा अनन्तनागतिर भागेको अनुमान गरिएको छ।


