
भारत सरकारले शनिबार नेपालका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्था तथा स्थानीय तहहरूलाई ४० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ। वीरगन्ज, काठमाडौं, पोखरा र धरानमा एकैसाथ कार्यक्रम आयोजना गरी सवारी साधनहरू प्रदान गरिएको हो।
काठमाडौंस्थित भारतीय राजदूतावास, वीरगन्जको महावाणिज्यदूतावास, र पोखरा तथा धरानस्थित पेन्सन वितरण कार्यालयमार्फत ती एम्बुलेन्सहरू वितरण गरिएको हो। कार्यक्रम अन्तर्गत सातै प्रदेशका ३३ जिल्लामा एम्बुलेन्स पुर्याइएको छ। वितरण संरचना अनुसार काठमाडौंमा २२, वीरगन्जमा ७, पोखरामा ७ र धरानमा ४ वटा एम्बुलेन्स वितरण गरिएको हो।
राजधानीमा आयोजित कार्यक्रममा भारतीय राजदूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवले सवारी साधनका चाबीहरु सम्बन्धित प्रतिनिधिहरूलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा विभिन्न नगर प्रमुख, गाउँपालिकाका अध्यक्ष, स्वास्थ्य संस्था प्रतिनिधि, राजनीतिकर्मी तथा सामाजिक व्यक्तिहरूको उपस्थिति थियो।
भारत सरकारले विगत तीन दशकभन्दा लामो समयदेखि नेपालका अस्पताल, स्वास्थ्य केन्द्र तथा अन्य सामाजिक संस्थाहरूलाई एम्बुलेन्स सहयोग गर्दै आइरहेको छ। सन् १९९४ यता हालसम्म नेपालमा उपलब्ध गराइएका एम्बुलेन्सको संख्या १०४९ पुगेको छ।
स्वास्थ्य क्षेत्रसँगै भारतले शिक्षा र सुरक्षातर्फ पनि सहयोग विस्तार गर्दै आएको छ। हालसम्म ३०० वटा स्कुल बस नेपालका शैक्षिक संस्थाहरूलाई दिइएको छ भने सन् २०२२ मा निर्वाचन प्रयोजनका लागि २०० वटा सवारी साधन सुरक्षा निकाय तथा निर्वाचन आयोगलाई उपलब्ध गराइएको थियो।
यस्तै, २०२५ मे महिनामा काठमाडौंमा आयोजित ‘सगरमाथा संवाद’का लागि १५ वटा विद्युतीय सवारी साधन नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाई हस्तान्तरण गरिएको थियो।