२६ वैशाख, काठमाडौं ।
भारतले आफ्नो सैन्य पूर्वाधारहरूमा पाकिस्तानबाट ३ सयभन्दा बढी ड्रोनमार्फत हमला भएको गम्भीर आरोप लगाएको छ। भारतीय विदेश मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत यो जानकारी दिएको हो।
भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार, बिहीबार राति पाकिस्तानी सेनाले लेहदेखि सरक्रिकसम्मका विभिन्न ३६ स्थानमा ३०० देखि ४०० ड्रोन पठाएर आक्रमण गर्न खोजेको थियो। भारतीय सेनाकी कर्णेल सोफिया कुरैशीका अनुसार सुरक्षाबलले तीमध्ये धेरै ड्रोनहरूलाई काइनेटिक र गैर-काइनेटिक प्रविधिबाट नष्ट गर्न सफल भएको बताइन्छ।
कर्णेल सोफियाले भनिन्, “पाकिस्तानले ड्रोनमार्फत भारतको वायु सुरक्षा प्रणाली परीक्षण गर्ने र संवेदनशील सूचनाहरू संकलन गर्ने प्रयास गर्यो।” भारतीय पक्षका अनुसार केही ड्रोनहरूको भग्नावशेष फेला परेका छन् र तिनीहरूको फोरेन्सिक परीक्षण भइरहेको छ। प्रारम्भिक अध्ययनले ती ड्रोनहरू टर्कीमा निर्मित भएको आशंका गरिएको छ।
यसैबीच, भारतले सीमामा भएको गोलाबारीमा आफ्ना केही सैनिकहरू मारिएको दाबी गरेको छ। जवाफी कारबाहीमा पाकिस्तानलाई ठूलो क्षति पुगेको पनि भारतीय पक्षले जनाएको छ। यद्यपि, घाइते वा मारिएका सैनिकहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
दोस्रो पक्षबाट भने यो दाबीलाई खारेज गरिएको छ। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतको आरोपमा कुनै सत्यता नरहेको बताएका छन्। उनले भने, “हामीले केही गरेका छैनौं। जब पाकिस्तानले आक्रमण गर्छ, त्यसबारे सबैले थाहा पाउनेछन्।”
यस घटनाले भारत–पाकिस्तानबीचको तनाव फेरि चुलिएको देखिएको छ। दुई देशबीच सन् २०१९ पछि ड्रोन र सीमावर्ती झडपका घटनाहरू निरन्तर भइरहेका छन्।


