
भारतको जम्मू कश्मीर राज्यअन्तर्गत पहलगाम क्षेत्रमा भएको आतङ्ककारी हमलापछि नेपाल–भारत सीमामा सुरक्षा सतर्कता कडा पारिएको छ।
सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार खुला सीमाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा निगरानी बढाइएको हो। जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नाका तथा आसपासका क्षेत्रमा सुरक्षाकर्मीको गस्ती र चेकजाँचलाई तीव्र बनाइएको मिश्रले बताए।
“सिमानाबाट कुनै अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा संयन्त्रलाई थप सक्रिय पारिएको छ,” प्रमुख जिल्ला अधिकारी मिश्रले भने, “सर्वसाधारणलाई पनि सतर्क रहन आग्रह गरिएको छ।”
सुरक्षा निकायले भारतीय पक्षसँग समन्वय गर्दै सीमा क्षेत्रमा सूचना आदानप्रदान र संयुक्त गस्तीसमेत सुरु गरेको जनाएको छ। पछिल्ला दिनहरूमा सीमापार अपराध तथा आतङ्ककारी गतिविधिको सम्भावनालाई लिएर दुवै देशका सुरक्षा एजेन्सीहरू सचेत देखिएका छन्।