काठमाडौं, २७ बैशाख – भारत र पाकिस्तानबीचको पुरानै तनावले फेरि नयाँ रूप लिएको छ। पाकिस्तानी सेनाले ‘बनयान उल मर्सुस’ नामक सैन्य अपरेसन सुरू गरेको दाबी गर्दै भारतका सैन्य आधारहरूमा जवाफी कारबाही गरेको बताएको छ।
पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार भारतले हालै सञ्चालन गरेको ‘अपरेसन सिन्दुर’ को प्रतिशोधस्वरूप पाकिस्तानले यो आक्रमण आरम्भ गरेको हो। पाकिस्तानको संघीय सरकार तथा सैन्य अधिकारीहरूद्वारा सार्वजनिक विवरणमा भारतीय भूभागका विशिष्ट सैन्य संरचनामा लक्षित कारबाही गरिएको उल्लेख छ।
सरकारी एक्स ह्यान्डलमार्फत सार्वजनिक गरिएको भिडियो तथा सूचनामा भारतको अदमपुरस्थित एस-४०० डिफेन्स सिस्टमलाई हाइपरसोनिक मिसाइलमार्फत ध्वस्त पारेको दाबी गरिएको छ। साथै, विद्युत ग्रीड, ब्रिगेड मुख्यालय, सप्लाई डिपो, हवाइ अड्डा तथा अन्य सैन्य प्रतिष्ठानहरूमा आक्रमण गरिएको बताइएको छ।
उता भारतले भने यी आक्रमणमध्ये धेरैजसोलाई आफ्ना एयर डिफेन्स प्रणालीले निस्तेज पारेको जनाएको छ। हिन्दुस्तान टाइम्सका अनुसार पछिल्ला दुई रातमा भारतले करिब ३००–४०० पाकिस्तानी ड्रोन निष्क्रिय बनाएको छ।
शुक्रबार रातिदेखि शनिबार बिहानसम्म भारत तथा पाकिस्तानका विभिन्न भूभागमा ठूलो आवाजका विस्फोटहरू सुनिएको जनाइएको छ। श्रीनगर, जम्मू, अमृतसर, जइसाल्मरजस्ता संवेदनशील क्षेत्रमा ब्ल्याकआउट गरिएको र उच्च सतर्कता अपनाइएको छ।
पाकिस्तानले शनिबार बिहान ३:१५ बजेबाट १२ बजे सम्म आफ्ना केही हवाई क्षेत्र बन्द गरेको छ। भारतले भने त्यसको आलोचना गर्दै पाकिस्तानले आफ्ना नागरिकलाई जोखिममा पारेको आरोप लगाएको छ।
अहिलेसम्म दुबै देशमा कति क्षति भएको भन्ने बारेमा स्पष्ट विवरण आइसकेको छैन। अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन आह्वान गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रूविओले भारत र पाकिस्तानसँग अलग–अलग संवाद गरी तनाव कम गर्ने पहल भइरहेको ह्वाइट हाउसले जनाएको छ।
सन्दर्भ: सेतोपाटी


