
बिरगंज, १४ बैशाख।
पर्सा जिल्लाको बिरगंज महानगरपालिका–१४ स्थित लक्ष्मणवा वाइपास सडकखण्डमा एक वटा बेवारिसे कार फेला परेको छ। स्थानीयवासीका अनुसार बैशाख १२ गते शुक्रबार एक व्यक्ति टायर मर्मत गराउन उक्त गाडी लिएर आएका थिए। मर्मतपछि गाडी छोडेर उनी कुनै कामका लागि गएको जनाइएको छ तर त्यसयता उनी सम्पर्कविहीन छन्।
गाडीको नम्बर प्लेट प्रदेश ३-०१-०२४च-७७३० रहेको छ। गाडीमा रहेको एक सुइटकेस झोला शंकास्पद देखिएको भन्दै टायर मर्मत गर्ने मिस्त्रीले प्रहरीलाई खबर गरेको बताए। तर, प्रशासनले तत्कालीन रूपमा कुनै ठोस कदम नचालेकोप्रति मिस्त्रीले गुनासो गरेका छन्।
“गाडी मेरो पसलअगाडि छ। दिनहुँ डर त्रासमा काम गर्नुपरेको छ,” मिस्त्रीले बताए।
स्थानीयबासीले सम्बन्धित गाडीको धनी वा चालकको बारेमा कुनै जानकारी भएमा नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय, पर्सालाई सूचित गर्न अनुरोध गरेका छन्।