वीरगञ्ज पब्लिक स्कूल (बिपिएस) +२ कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै एकदिने उत्प्रेरणात्मक (मोटिभेसनल) प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीको व्यक्तित्व विकास, जीवन लक्ष्यको पहिचान र सामाजिक उत्तरदायित्वप्रति सजगता जगाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।
रानीघाटस्थित बिपिएस कलेजले होटल भिषवामा आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरूले विद्यार्थीहरूलाई प्रेरणादायी सन्देश दिएका थिए। कार्यक्रमको नेतृत्व कलेजका शैक्षिक निर्देशक दीपक पटेलले गरेका थिए।
पर्साका प्रहरी प्रमुख गौतम मिश्र कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले विद्यार्थीहरूलाई सामाजिक विकृति र प्रविधिको दुरुपयोगबाट जोगिन सुझाव दिँदै, वर्तमान पुस्ताले प्राप्त गरेका प्रविधि, इन्टरनेट र डिजिटल माध्यमको सकारात्मक प्रयोग गर्न प्रेरित गरे।
“स्मार्टफोन र डिजिटल संसारमा सजिलो पहुँच आजको पुस्ताको विशेषता हो, तर त्यसको गलत प्रयोगले भोलिको भविष्य धरापमा पार्न सक्छ,” उनले बताए।
कार्यक्रममा उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरिप्रसाद गौतम विशिष्ट अतिथिको रूपमा उपस्थित थिए भने स्वागत मन्तव्य बोर्ड सदस्य राजेन्द्र चौधरीले दिएका थिए।
बिपिएसका एचआर डाइरेक्टर सन्दीप कुशवाहाले दीर्घकालीन सफलताको लागि आत्मविश्वास, सकारात्मक सोच र अनुशासित जीवनशैली अपरिहार्य हुने उल्लेख गरे। “उद्देश्यप्रति निष्ठा र समय व्यवस्थापन नै जीवन परिवर्तनको सूत्र हो,” उनले भने।
मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश मानवसेवा प्रशिक्षकको रूपमा सहभागी भएका थिए। उनले विद्यार्थीहरूलाई आफ्नो जीवनको लक्ष्य प्रष्ट पार्न र सामाजिक दायित्वप्रति उत्तरदायी बन्न आह्वान गरे।
“विद्यार्थीकालमै स्थापित सोच र मूल्यहरूले जीवनको दिशा तय गर्छ,” उनको भनाइ थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्ता प्रशिक्षणहरूले सोचमा परिवर्तन ल्याउने, आत्मबल बढाउने र समाजप्रति उत्तरदायी बन्न प्रेरणा दिने बताएका छन्।
कार्यक्रमको अन्त्यमा शैक्षिक निर्देशक दीपक पटेलले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी प्रशिक्षणहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।


