
वीरगञ्ज, १४ वैशाख
देशभर श्रद्धा र समर्पणका साथ मनाइने वैशाख कृष्ण औंसी, अर्थात् ‘आमाको मुख हेर्ने’ विशेष दिनको अवसरमा बिकन सेकेन्डरी स्कुल, वीरगञ्जले विशेष कार्यक्रम आयोजना गर्दै आमाहरूलाई सम्मान गरेको छ।
आइतबार सम्पन्न उक्त समारोह वरिष्ठ समाजसेवी प्रकाश उपाध्यायको प्रमुख आतिथ्यता र शैक्षिक सहिद मुकुन्द प्रसाद स्मृति प्रतिष्ठान पर्साकी अध्यक्ष मुना कुमारी खनालको अध्यक्षतामा भव्य रुपमा सम्पन्न भयो। कार्यक्रमका विशिष्ट अतिथिहरूमध्ये स्कुलका प्रिन्सिपल जयकुमार दनुवार, शिक्षिका रीना विश्वकर्मा र शैक्षिक अभियन्ता सुभाष भट्टराईलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बालबालिकाहरूले गीत, नृत्य र विविध सांस्कृतिक प्रस्तुतिमार्फत आमाहरूप्रति आफ्नो माया र सम्मान प्रकट गरे। उत्साहित आमाहरूले आफ्ना सन्तानको प्रस्तुति हेर्दै खुशी साटासाट गरेका थिए।
वरिष्ठ समाजसेवी उपाध्यायले आमाको मुख हेर्ने दिनको महत्वलाई चर्चा गर्दै भने, “आमाप्रति कृतज्ञता प्रकट गर्ने र जीवनमा सफलताको कामना गर्दै आशीर्वाद लिने यो पर्वले पारिवारिक र सामाजिक सम्बन्धलाई अझ बलियो बनाउँछ।” उनले आमालाई मिठा परिकार, नयाँ लुगा र मायाले भरिएका उपहारहरू प्रदान गर्दै स्नेह प्रकट गर्ने परम्पराको महत्वबारे पनि प्रकाश पारे।
उक्त कार्यक्रम शिक्षक राहुल साहले कुशलतापूर्वक सञ्चालन गरेका थिए।