वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका अजय कुमार चौरसियाले काठमाडौँका पूर्व मेयर बालेन शाहको चर्को आलोचना गरेका छन्। शनिबार वीरगञ्जस्थित नगर सभा गृहमा सम्पन्न काँग्रेसको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले बालेन शाहको व्यवहार, अभिव्यक्ति र राजनीतिक भूमिकामाथि प्रश्न उठाएका हुन्।
चौरसियाले बालेन शाहलाई र्याप गीतमार्फत युवामाझ लोकप्रियता खोज्ने कलाकारको संज्ञा दिँदै नशामा डुबेको व्यक्ति देश निर्माणको सपना बाँडिरहेको टिप्पणी गरे। उनले यस्तो शैली र सोचबाट मुलुकको भविष्य बन्न नसक्ने दाबी गरे।
बालेन शाहलाई मधेसी नेता भनेर प्रस्तुत गरिनु भ्रम मात्र भएको चौरसियाको आरोप थियो। चुनाव जित्ने उद्देश्यले आफूलाई मधेसको छोरो भनेर प्रचार गरिएको उल्लेख गर्दै उनले काठमाडौँ महानगरको नेतृत्व गर्दा सडकमा व्यवसाय गर्ने धेरै मधेसीमाथि दमन भएको, साथै छठ पर्वजस्तो महत्वपूर्ण सांस्कृतिक उत्सवलाई रानीपोखरीमा मनाउन अवरोध गरिएको आरोप लगाए।
कार्यक्रममा चौरसियाले आगामी निर्वाचनमा काँग्रेसले देशभर १६५ उम्मेदवारमध्ये करिब १२० जना नयाँ अनुहारलाई अघि सारेको जानकारी दिँदै पार्टीभित्र नयाँ नेतृत्वसँगै उत्साह र ऊर्जा बढेको बताए। काँग्रेसलाई कमजोर पार्ने उद्देश्यले गरिने प्रचार–प्रसार सफल नहुने दाबी गर्दै उनले इतिहासमा राणा शासनदेखि माओवादी आन्दोलनसम्म कसैले पनि काँग्रेसलाई समाप्त गर्न नसकेको स्मरण गराए।
उनले विदेशी शक्तिहरूले नेपाललाई अस्थिर बनाउने प्रयास गरिरहेको आरोप लगाउँदै शान्ति, स्थायित्व र संविधानको रक्षा आवश्यक रहेको बताए। संविधान जोगाउन काँग्रेसको विजय अपरिहार्य रहेको उल्लेख गर्दै यदि काँग्रेस पराजित भए देशमा अशान्ति फैलिने चेतावनीसमेत दिए।
स्वतन्त्र उम्मेदवार राजेश्वर प्रसाद साह तेलीको उम्मेदवारी फिर्ताबारे फैलाइएका हल्लाप्रति चौरसियाले असन्तुष्टि जनाए। दुई करोड रुपैयाँ लिएर उम्मेदवारी फिर्ता गरिएको भन्ने चर्चा निराधार भएको स्पष्ट पार्दै उनले आफूले त्यस्तो रकम देख्नेसमेत अवसर नपाएको बताए। उनका अनुसार शुक्रबार स्वयं साह तेलीको निवासमा पुगेर आग्रह गरेपछि उनले कुनै सर्त नराखी काँग्रेसलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका हुन्।
क्षेत्रीय सभापति मोहम्मद साहबुद्धिनको अध्यक्षतामा सम्पन्न उक्त भेलामा काँग्रेस केन्द्रीय सदस्य रामरुप कुर्मी, मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेल, पर्सा सभापति जनार्दन सिंह क्षेत्री, विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरू तथा पूर्व मन्त्री ओमप्रकाश शर्मा लगायत नेताहरूले पनि आफ्नो धारणा राखेका थिए।


