
वीरगञ्ज, बारा — बैशाख महिनाको अन्त्यसँगै बारा र पर्सा जिल्लामा गर्मीको चाप चरम बिन्दुमा पुगेको छ। विगत केही दिनयता तापक्रम उच्च बिन्दुमा पुगेपछि जनजीवन प्रभावित भएको छ भने दैनिक क्रियाकलाप अस्तव्यस्त भएका छन्।
कलैया, वीरगञ्ज, रामपुर, पोखरिया, मझौलिया, भवानीपुर, भिषवा, पिलुवा, मनहर्वा, ठोरी लगायतका क्षेत्रहरूमा अत्यधिक गर्मीका कारण सडकहरू सुनसान देखिन थालेका छन्। दिउँसोको समयमा चर्को घाम र तातो हावाले वातावरण झनै असहज बनाएको स्थानीयहरूको गुनासो छ।
गर्मीले वनस्पति र बालीमा प्रत्यक्ष असर देखिन थालेको छ। खेतबारी सुक्न थालेका छन्, जमिन चिरा पर्न थालेको छ र नियमित सिँचाइ नगरीकन बाली जोगाउन कठिन देखिएको किसानहरूको भनाइ छ। बाली सुक्ने अवस्था आएकाले किसानहरू चिन्तित छन्।
यसैबीच, गर्मी छल्न नागरिकहरूले चिसो पेय, सातु, तरबुजा, दही, लस्सी, केरा जस्ता सामग्रीको बढी प्रयोग गर्न थालेका छन्। बजारमा यस्ता वस्तुहरूको माग अत्यधिक बढेको व्यापारीहरू बताउँछन्।
स्वास्थ्य क्षेत्र पनि गर्मीको प्रभावबाट अछुतो छैन। चिकित्सकहरूका अनुसार, अत्यधिक तापक्रमका कारण ज्वरो, शरीर दुख्ने, निर्जलीकरण, आलस्यपन, चक्कर लाग्नेजस्ता समस्या देखिन थालेका छन्। यसलाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीहरूले दिनको चर्को घाममा ननिस्कन, हल्का लुगा लगाउन, छाता वा चश्माको प्रयोग गर्न र प्रशस्त पानी पिउन सल्लाह दिएका छन्।
स्थानीय प्रशासन तथा स्वास्थ्य संस्थाहरूले पनि सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्। गर्मीका कारण उत्पन्न हुने सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।