बारा जिल्लाको बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा आयोजित पाँचवर्षीय मेलामा यसपटक लाखौं भक्तजनको उल्लेखनीय भीड देखिएको छ। मौलापुर नगरपालिकाले मेलामा आवतजावत गर्न सहज बनाउन मुख्य सडकहरूको मर्मत कार्यलाई तीव्रता दिएको छ।


गत असोजमा आएको बाढीले जयनगर–मौलापुर–वीरगंज सडकलाई नराम्ररी क्षति पुर्याएपछि मर्मतकार्यको अभावमा स्थानीय तहले नै चासो देखाएर काम थालेको हो। मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साहले गढीमाई मेलालाई लक्षित गरी सडक सुधार कार्य गरिरहेको बताएकी छन्।
पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले पनि नगरपालिकाको प्रयासको प्रशंसा गर्दै केन्द्र र प्रदेश सरकारले यस्ता संरचनाको मर्मतमा ध्यान नदिएकोमा आलोचना गरेका छन्। उनले भने, “यस्ता गैरजिम्मेवार गतिविधिले सरकारहरूको असक्षमता र अनैतिक प्रवृत्तिको प्रदर्शन गरेको छ। जनता समस्यामा हुँदा पनि नेतृत्वले बेवास्ता गर्नु दुःखद छ।”
दुई करोडको सहभागीता अपेक्षा
गढीमाई मन्दिरमा भएको मेलामा यसपटक दुई करोडभन्दा बढी भक्तजन आउने आयोजकको अनुमान छ। गत १७ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा औपचारिक उद्घाटन गरिएको यो मेला पौराणिक परम्परामा आधारित छ। मन्दिरका मूल पुजारी मंगल चौधरीका अनुसार आगामी २३ गते आइतबार बली प्रथाको औपचारिक थालनी हुनेछ।
बलीको प्रारम्भ मूल तान्त्रिक उमाशंकर धामी कछाडियाले आफ्ना शरीरका पाँच स्थानबाट रगत निकालेर देवीलाई चढाउने परम्पराद्वारा हुनेछ। यसपछि परेवा, बोका, राँगालगायतका जनावरहरूको बली दिइने चलन रहेको छ। भक्तजनहरू रोग–शोक निवारण, सन्तान प्राप्ति र देवीको आशीर्वादका लागि यस मेलामा सहभागी हुने गर्छन्।
मेलामा नेपालका विभिन्न जिल्लाबाट मात्र होइन, छिमेकी भारतबाट पनि लाखौं श्रद्धालुहरू आउने गरेका छन्। यस पटकको मेला, परम्परा र आस्थाको अनुपम संगम बनेको छ।


