वीरगञ्ज। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष बिंदालाल साहविरुद्ध अदालतले पक्राउ आदेश जारी गरेको छ। जिल्ला अदालत बाराले प्रहरीलाई पत्र लेख्दै वडाअध्यक्ष साहलाई पक्राउ गरेर अदालतमा उपस्थित गराउन निर्देशन दिएको हो।

अदालतले मंसिर १७ गते जिल्ला प्रहरी कार्यालय बारालाई पत्र पठाउँदै वडाअध्यक्ष साहलाई चेक अनादरसम्बन्धी मुद्दामा उपस्थित गराउन भनेको छ। अदालतले मंसिर १४ गते नै सो मुद्दामा साहलाई पक्राउ गर्न आदेश जारी गरिसकेको थियो।
चेक अनादरको कसुरमा दोषी ठहरिएका साहविरुद्ध सोही वडाका चेतनारायण मुखियाले उजुरी दर्ता गराएका थिए। उजुरीको आधारमा अदालतले अनुसन्धानका लागि साहलाई पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको हो।
वडाअध्यक्ष साह माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका जनप्रतिनिधि हुन्। अदालतको आदेशपछि प्रहरीले उनलाई पक्राउ गर्ने प्रक्रिया अघि बढाएको जनाइएको छ।


