काभ्रे (पनौती), १ कात्तिक: खानेपानीमन्त्री प्रदीप यादवले काभ्रेको रोशीलगायतका खोलानालाले बिगारेका खानेपानी संरचनाको कामलाई द्रुत प्रक्रियामा निर्माण गरिने बताउनुभएको छ। मन्त्री यादवले बाढीले क्षतिग्रस्त संरचनालाई छिटो निर्माण गरी प्रभावित जनतालाई यथासक्य छिटो खानेपानीको व्यवस्था गरिने प्रतिबद्धता जनाउनुभएको छ।
गत असोज १२ गतेको अविरल वर्षाका कारण काभ्रेको बनेपास्थित शशीपानी क्षेत्रको मुहान, धुलिखेलको राणेखोला मुहान र पनौती नगरपालिकाका विभिन्न वडाका खानेपानी संरचनामा बाढीले ठूलो क्षति पु¥याएको थियो। खानेपानीमन्त्री यादवले आज ती संरचनाको स्थलगत निरीक्षण गर्दै छिटोभन्दा छिटो पुनर्निर्माणको योजना अघि बढाइने बताउनुभएको छ।
मन्त्री यादवले भन्नुभयो, “पनौतीसहित आसपासका क्षेत्रमा बाढीले खानेपानीका संरचनामा ठूलो क्षति पु¥याएको छ। ती संरचनाको पुनर्निर्माण द्रुत प्रक्रियामार्फत सुरु गरी प्रभावित जनतालाई यथासक्य छिटो खानेपानीको सेवा उपलब्ध गराउनेछौँ।”
उहाँले थप गर्नुभयो, “मन्त्रालय, विभाग र खानेपानी संस्थानसहितको टोलीले बाढीपहिरोबाट भएको क्षतिको यथार्थ विवरण तयार गरी तीन दिनभित्र सूचना प्रकाशित गरेर काम अघि बढाउनेछ। ढुक्क हुनुहोस्, यथासक्य छिटो खानेपानी समस्या समाधान गर्न सरकार तयार छ।”
मन्त्री यादवले स्थानीयवासीसँगको समन्वयमा दीर्घकालीन रूपमा खानेपानी व्यवस्थापनको योजना तयार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। उहाँले मुहान क्षेत्रका स्थानीयवासीसँग आवश्यक सहकार्य गरी समस्याको दीर्घकालीन समाधानमा जोड दिने बताउनुभयो।
स्थानीयवासीले मन्त्री यादवसँग छिटोभन्दा छिटो खानेपानीको व्यवस्था गरिदिन र बाढीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसहित प्रभावित क्षेत्रका वस्तीहरूलाई सुरक्षित स्थानमा सार्न अनुरोध गरेका थिए।
अनुगमन टोलीमा बागमती प्रदेशका सांसद कञ्चनचन्द्र बादे, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता, स्थानीयवासी, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख, खानेपानी संस्थानका महाप्रबन्धकलगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


