
बाँके, १० माघ – बाँकेको राप्ती सोनारी गाउँपालिका–८ सम्शेरगन्जको भगवती सामुदायिक वनमा बाघको आक्रमणले ६७ वर्षीया चेती बुढाको ज्यान गएको छ। बुधबार बिहान घरबाट दाउरा काट्न गएकी बुढामाथि बाघले आक्रमण गरेको हो।

इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार चेती बुढा बिहान करिब ११ बजे जंगल पसेकी थिइन्। सामुदायिक वनभित्र काम गरिरहेको बेला बाघले उनलाई आक्रमण गरेको र घटनास्थलमै उनको मृत्यु भएको पुष्टि भएको छ।

दिउँसो साढे ३ बजेतिर स्थानीयले खोजी गर्दा जंगलभित्र उनको शव फेला परेको थियो। घटनापछि शवलाई भेरी अस्पताल, नेपालगन्जमा पोष्टमार्टमका लागि पठाइएको छ।
यस घटनाले वन क्षेत्र नजिक बसोबास गर्ने स्थानीयवासीमा भयको वातावरण सिर्जना गरेको छ। वन्यजन्तुबाट हुने जोखिमलाई न्यून गर्न प्रभावकारी कदम चाल्नुपर्ने माग स्थानीयले गरेका छन्।


