काठमाडौं, ७ पुस — बंगलादेशमा एक हिन्दु युवाको नृशंस हत्या भएको घटनालाई लिएर काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ। राष्ट्रिय एकता अभियानको अगुवाइमा सोमबार काठमाडौँस्थित बंगलादेशी राजदूतावास अगाडि प्रदर्शनकारीहरू भेला भई कडा आक्रोश व्यक्त गरेका हुन्।
बंगलादेशका हिन्दु युवा दिपुचन्द्र दासको हत्या भएको विरोधमा आयोजित प्रदर्शनमा सहभागीहरूले अल्पसंख्यक समुदायको सुरक्षाको माग गर्दै नाराबाजी गरे। “अल्पसंख्यकलाई सुरक्षा देऊ”, “मानवअधिकारको रक्षा गर”, “धार्मिक हिंसा रोक” लगायतका नारासहित उनीहरूले बंगलादेश सरकारको आलोचना गरेका थिए। प्रदर्शनका क्रममा केही नाराहरू बंगलादेश सरकार र त्यहाँको नेतृत्वविरुद्ध समेत केन्द्रित थिए।
प्रदर्शनलाई सम्बोधन गर्दै समाजसेवी माधव सिंहले बंगलादेशमा हिन्दु तथा अन्य अल्पसंख्यक समुदायमाथि भइरहेको हिंसा गम्भीर मानवअधिकार उल्लंघन भएको बताए। “धर्म र पहिचानका आधारमा निर्दोष मानिसको ज्यान लिनु कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन,” उनले भने, “अब अन्तर्राष्ट्रिय समुदायले यस विषयमा गम्भीर चासो देखाउनुपर्छ।”
राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बंगलादेश सरकार अल्पसंख्यक समुदायको सुरक्षा गर्न असफल भएको आरोप लगाए। उनले भने, “हिन्दु समुदायमाथि लक्षित आक्रमण राज्यको कमजोरी र उदासीनताकै परिणाम हो। यदि तत्काल प्रभावकारी कदम चालिएन भने अन्तर्राष्ट्रिय दबाब आवश्यक हुन्छ।” यादवले नेपाल सरकारलाई पनि कूटनीतिक माध्यमबाट बंगलादेश सरकारसमक्ष आपत्ति जनाउन आग्रह गरे।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।


