काठमाडौं । पर्वतीय क्षेत्रमा गरिएको भनिएको नक्कली उद्धार प्रकरणमा नेपाल प्रहरीले ठुलो गिरोहलाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेक रेस्क्यू कागजात तयार गरी बीमा रकम दाबी गरेको आरोपमा विभिन्न ट्राभल एजेन्सीका सञ्चालक तथा व्यवस्थापक गरी ६ जनालाई पक्राउ गरेको हो।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत सीआईबीले एउटै नियमित वा चार्टर हेलिकोप्टर प्रयोग गरी पाँच जनासम्म पर्यटक ल्याएर छुट्टाछुट्टै उद्धार गरिएको देखाइ करोडौँ रुपैयाँको बीमा दाबी गरिएको खुलासा गरेको छ।
पक्राउ पर्नेमा माउन्टेन रेस्क्युका सञ्चालक जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्स्पेरिएन्स एन्ड एसीस्टका प्रबन्ध निर्देशक मुक्ति पाण्डे तथा सञ्चालक एवं प्रबन्धक सुभाष केसी रहेका छन्।
सीआईबी प्रमुख एआईजी मनोज केसीका अनुसार एउटै स्थानबाट ल्याइएका पर्यटकलाई फरक–फरक ठाउँ र समयमा उद्धार गरिएको भन्दै बीमा कम्पनीबाट अनुचित लाभ लिएको प्रमाण भेटिएको छ। बीमा दाबी गर्ने मुख्य व्यक्ति नियन्त्रणमा लिइएको र यसमा थप व्यक्तिहरूको संलग्नता हुन सक्ने भएकाले अनुसन्धान जारी रहेको उनले बताए।
नक्कली उद्धारले आर्थिक ठगी मात्र नभई नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय साखमा गम्भीर असर पार्ने र भविष्यमा बीमा सुविधा नै बन्द हुनसक्ने खतरा रहेको चेतावनी समेत प्रहरीले दिएको छ।
पक्राउ परेकाविरुद्ध राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


