२८ माघ, वीरगञ्ज । कालीकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी कार्यालयमा तीन महिनादेखि अनुपस्थित रहेको भन्दै उपप्रमुख राजमती बरैनी नेतृत्वको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
उक्त ज्ञापनपत्रमा गिरीले आफ्नो कार्यभार सम्हालेदेखि हालसम्म मात्र एक दिन कार्यालयमा उपस्थिति जनाएका कारण पालिकाको प्रशासनिक गतिविधिमा गम्भीर असर परेको उल्लेख छ। उपप्रमुख बरैनीले अधिकृत गिरी तत्काल कार्यालय फर्किनुपर्ने माग गर्दै, अन्यथा कडा कदम चाल्न बाध्य हुने चेतावनी दिइन्।
तरुण दल क्षेत्र नम्बर ४ का सभापति राज चौरसियाले अधिकृत गिरीको निरन्तर अनुपस्थितिले स्थानीय तहका सेवा अवरुद्ध भएको बताउँदै, समस्या समाधानका लागि प्रशासनले तत्काल कदम चाल्नुपर्ने धारणा राखे।
ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका नेता अजय कुमार पटेल, पञ्चानन्द मिश्रसहित विभिन्न दलका कार्यकर्ता तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। सहभागीहरूले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई समस्या समाधानका लागि छिटो पहल गर्न आग्रह गरेका छन्।


