काठमाडौँ, असार १४ –
प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ स्पेनको सेभिल्ला सहरतर्फ प्रस्थान गर्दैछन्। संयुक्त राष्ट्रसंघद्वारा आयोजित “चौथो विकासका लागि वित्तसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (एफएफडी-४)” मा भाग लिन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन जान लागेका हुन्।
उक्त सम्मेलन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको निमन्त्रणमा आयोजना हुँदैछ। सम्मेलनमा विश्वका राष्ट्र प्रमुख, अन्तरराष्ट्रिय निकाय, आर्थिक संस्था, व्यापारी समुदायका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा राष्ट्रसंघ अन्तर्गतका निकायका प्रतिनिधिहरूको सहभागिता रहनेछ। सम्मेलन असार १६ देखि १९ गतेसम्म स्पेनको सेभिल्लामा हुनेछ।
नेपालले यस सम्मेलनमा अल्पविकसित, साना तथा टापु राष्ट्रहरूको तर्फबाट आवाज उठाउने तयारी गरेको छ। साथै, धनी राष्ट्रहरूले विकासोन्मुख देशहरूका लागि गरेको लगानी प्रतिबद्धताको कार्यान्वयनमा पनि छलफल केन्द्रित हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीले सम्मेलनमा सम्बोधन गर्नुका साथै स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र समकक्षी प्रधानमन्त्री सान्चेजसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै, अन्य देशका शीर्ष नेताहरूसँग पनि साइडलाइन वार्ताहरू तय गरिएको छ।
प्रधानमन्त्री ओली कतारको दोहा हुँदै मेड्रिड प्रस्थान गर्ने कार्यक्रम रहेको छ भने असार २० गते साँझ ४ः४५ बजे स्वदेश फर्कने कार्यतालिका तय गरिएको छ।
यो भ्रमणले नेपालमा वैदेशिक लगानी प्रवाहमा सहयोग पुग्ने र स्पेनसहित युरोपेली पर्यटक आकर्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री कार्यालय सचिव राजकुमार श्रेष्ठ, निजी चिकित्सक डा. स्मृति शाक्य लगायत उच्च अधिकारीहरू सहभागी छन्। भ्रमणमा सहभागी नेपाली टोलीमा कूल २९ जना रहनेछन्, जसमध्ये २१ जना नेपालबाट, बाँकी स्पेन र न्यूयोर्कस्थित नियोगमार्फत सहभागी हुने छन्।
यस भ्रमण दलमा स्पेनस्थित नेपाली राजदूत शनिल नेपाल र राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापाको समेत सहभागिता रहनेछ।


