काठमाडौं, १७ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दैछन्। चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा ओली नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान हिमालय एयरलाइन्सको चार्टर विमानबाट चीनको राजधानी बेइजिङ जाँदै छ।

बिहान ११ बजे नेपालबाट उड्ने प्रधानमन्त्री ओलीको टोली स्थानीय समयअनुसार साँझ ६:१० बजे बेइजिङ पुग्नेछ। भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ प्रधानमन्त्री ली छ्याङले ओलीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ। त्यसपछि दुईपक्षीय वार्ता र विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ। ओलीले सोही दिन चिनियाँ राष्ट्रपति सि जिनफङसँग भेटघाट गर्नेछन्। साथै, जनवादी चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने तय भएको छ।

भोलिपल्ट मंसिर १९ गते ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नेछन्। त्यस्तै, बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्नेछन्। संग्रहालय भ्रमण पनि उक्त दिनकै तालिकामा समावेश गरिएको छ। भ्रमण सम्पन्न गरेर ओली मंसिर २० गते दिउँसो २:३० बजे स्वदेश फर्कनेछन्।

भ्रमण टोली र एजेन्डा
प्रधानमन्त्रीको भ्रमण टोलीमा सरकारी क्षेत्रका ४६ र निजी क्षेत्रका ३२ सदस्यसहित ७८ जनाको सहभागिता रहनेछ। साथै, बेइजिङस्थित नेपाली राजदूतावासबाट थप ८ जना सदस्य टोलीमा सामेल हुनेछन्। यसरी, समग्र भ्रमण टोली ८६ सदस्यीय हुनेछ।
नेपाल र चीनबीचका महत्वपूर्ण सहकार्यहरूलाई अघि बढाउन ओलीको भ्रमणका क्रममा विभिन्न समझदारीपत्रमा हस्ताक्षर हुने तयारी छ। काठमाडौं चक्रपथ सुधार, चौथो चरणको अरनिको राजमार्ग सुधार, हिल्सा–सिमीकोट सडक आयोजना, र टोखा–छहरे सुरुङ मार्ग परियोजनामा सम्झौता गरिनेछ।
यस्तै, बिपी कोइराला क्यान्सर अस्पतालमा बोन म्यारो प्रत्यारोपण सेवा सुरु गर्न, एक सय विद्युतीय गाडी, प्रहरी र स्कुल भ्यान, तथा एम्बुलेन्स खरिदका लागि सहमति गरिने भएको छ। रेडियो नेपाल र नेपाल टेलिभिजन तथा चाइना मिडिया ग्रुपबीच सहकार्यको समझदारी पनि हुने छ।
चिनियाँ सहयोगका पहलहरू
भ्रमणका क्रममा नेपालमा चिनियाँ भाषा शिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र तीन सय मिलियन युआन बराबरको आर्थिक तथा प्राविधिक सहायता प्रदान गर्ने सम्झौताहरूमा पनि हस्ताक्षर हुनेछ।
प्रधानमन्त्री ओलीको यो भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी आर्थिक र प्राविधिक सहयोगलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ।


