काठमाडौँ — आगामी प्रतिनिधि सभा निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र सुरक्षित ढंगले सम्पन्न गर्ने विषयमा निर्वाचन आयोग र गृह मन्त्रालयका शीर्ष नेतृत्वबीच औपचारिक छलफल भएको छ। फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई केन्द्रमा राख्दै आवश्यक तयारी, व्यवस्थापन र समन्वयका विषयमा दुवै पक्षबीच विस्तृत संवाद गरिएको हो।
छलफलमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रक्रियामा अपनाउनुपर्ने प्रशासनिक व्यवस्थापन, सुरक्षा प्रबन्ध तथा संवेदनशील पक्षहरूबारे धारणा आदान–प्रदान गरेका छन्। निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउने लक्ष्यसहित सुरक्षाको समुचित व्यवस्था र सरकारी निकायबीचको सहकार्यलाई थप मजबुत बनाउने विषयमा जोड दिइएको बताइएको छ।
बैठकमा निर्वाचन आयुक्तहरू जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठलगायत सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी थिए। सहभागीहरूले निर्वाचनको तयारी समयमै पूरा गर्न आपसी समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।


