काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको सक्रिय पहलमा पर्साको पोखरीया नगरपालिकामा रहेको पोखरीया अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा घोषणा गरिएको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले पोखरीया अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गर्दै प्रादेशिक अस्पतालको मान्यता दिने ऐतिहासिक निर्णय गरेको हो। मन्त्री गुप्ताले यो निर्णयले पोखरीया नगरपालिका मात्र नभई सम्पूर्ण मधेस प्रदेशका बासिन्दाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ।
मन्त्री गुप्ताले यस निर्णयलाई विगतका धेरै वर्षदेखि जनताले उठाउँदै आएको मागको प्रतिफल भन्दै आफ्नो खुसी व्यक्त गर्नुभएको छ। “पोखरीया अस्पताललाई प्रादेशिक स्तरमा उन्नयन गर्न सफल हुँदा अत्यन्त हर्षित छु। यो निर्णयले स्वास्थ्य सेवामा नयाँ युगको सुरुवात गर्नेछ,” उहाँले भन्नुभयो।
यस निर्णयका लागि पोखरीया नगरपालिका, स्थानीय अगुवा, सामाजिक अभियन्ता, र राजनीतिक नेतृत्वको योगदानका साथै प्रधानमन्त्री र अन्य मन्त्रीहरूको सहयोगप्रति उहाँले विशेष आभार व्यक्त गर्नुभएको छ।
अब ५० शय्यायुक्त प्रादेशिक अस्पतालको रुपमा पोखरीया अस्पतालले आधुनिक र विस्तारित स्वास्थ्य सेवाको पहुँच स्थानीय बासिन्दासँगै मधेस प्रदेशभरका नागरिकसम्म पुर्याउने अपेक्षा गरिएको छ। यो घोषणा मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा नयाँ उचाइ स्थापित गर्ने मार्गदर्शक निर्णय मानिएको छ।


