पर्सा,असार-६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले पर्सा जिल्लाको पोखरिया नगरपालिकामा छापा मारेको छ। योजना स्वीकृति, ठेक्का प्रक्रिया, कर्मचारी भर्ना र मालसामान खरिदलगायतका कार्यहरूमा अनियमितता भएको गम्भीर आशंकामा छापा मारिएको हो।
आयोगले दिएको जानकारीअनुसार, पोखरिया नगरपालिकामा गैरकानुनी रूपमा बजेट विनियोजन, कार्यान्वयनमा अपारदर्शिता, तथा कर्मचारी नियुक्तिमा नियमविपरीत प्रक्रिया अपनाइएको उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान गर्दा ठूलाे भ्रष्टाचारको संकेत देखिएको थियो।
यही अनुसन्धानको क्रममा आयोगको टोलीले लेखा, योजना, प्रशासनसहितका मुख्य शाखामा एकसाथ छापा मारी आवश्यक कागजात संकलन गरेको छ। आयोग स्रोतका अनुसार करारमा नियुक्त कर्मचारीको प्रक्रिया, योजनाको मूल्यांकन, कार्य प्रगतिसम्बन्धी कागजात र डिजिटल डाटासमेत जफत गरिएको छ।
यसअघि, पोखरियाकै निम्ति प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई बहुदरमाई नगरपालिकासँग जोडिएको घुस प्रकरणमा पक्राउ गरिसकेको अख्तियारले, अहिले पोखरियामा व्यापक छानबिन अघि बढाएको हो।
स्थानीयवासीहरू लामो समयदेखि नगरपालिकामा भ्रष्टाचार मौलाएको गुनासो गर्दै आएका थिए। अख्तियारले भनेको छ — “कुनै पनि सरकारी निकायमा भएको अनियमितता, अवैध कार्य र भ्रष्टाचारविरुद्ध आयोगको शून्य सहनशीलताको नीति रहेको छ।
”छानबिनका निष्कर्षपछि पोखरिया नगरपालिकामा थप कारबाही हुने संकेत देखिएको छ।


