पर्सा असार-६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरिया नगरपालिकाका जिन्सी, प्रशासन तथा इन्धन वितरण शाखाका प्रमुख संदीप साहलाई भ्रष्टाचारको गम्भीर आरोपमा पक्राउ गरेको छ। मेयर प्रदुमन चौहानका नजिकका व्यक्ति मानिने साहलाई आयोगको टोलीले पोखरियास्थित प्रगतिनगरस्थित निवासबाट नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार, साहले नगरपालिकाका विभिन्न योजना, सामान खरिद र ठेक्का प्रक्रियामा ठेकेदार तथा सेवाग्राहीहरूसँग अनधिकृत रूपमा रकम असुली गर्दै आएका थिए। प्रारम्भिक अनुसन्धानमा उनले आफ्नो पदको दुरुपयोग गर्दै घूस लिएको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो।
साहमाथि योजनाको स्वीकृति, ठेक्का प्रक्रिया र आपूर्ति व्यवस्थापनमा अनियमितता गरी आर्थिक लाभ लिएको आरोप छ। आयोगले यस घटनामा संलग्न अन्य व्यक्तिहरूबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।
यसअघि बहुदरमाई नगरपालिकामा कार्यरत तत्कालीन निम्ति प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव पनि घूस प्रकरणमा पक्राउ परिसकेका छन्। पोखरिया नगरपालिका केन्द्रविन्दुमा राखेर अख्तियारको टोली हालै मात्र विभिन्न शाखाहरूमा छानबिन गरिरहेको छ।
पर्सा जिल्लामा एकपछि अर्को गरेर सार्वजनिक निकायमा देखिएको भ्रष्टाचारका घटनाले राज्य प्रणालीमा व्यापक प्रश्न उठाएको छ। यस्तै अवस्थामा अख्तियारले देखाएको सक्रियता र कडाइले पारदर्शी शासनप्रति सर्वसाधारणमा आशा बढाएको देखिन्छ। आयोगले भ्रष्टाचारविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउँदै अघि बढाइरहेको जनाएको छ।


