पोखरा नदीपुरमा एक वर्षदेखि प्रत्येक सातामा नियमित भजन कार्यक्रम आयोजना गर्दै आएका युवाहरुको टोलीले धार्मिक वातावरण सृजना गर्दै गएको छ। “एमआरआर पोखरा” समूहका युवाहरुको पहलमा सुरु भएको यो भजन कार्यक्रम अहिले स्थानिय समुदायको समेत आकर्षणको केन्द्र बनेको छ।
शुरुआती चरणमा युवाहरुबीचको आन्तरिक साधनाको रूपमा सुरु भएको भजन क्रियाकलाप अहिले नदीपुर क्षेत्रका सर्वसाधारणको नियमित सहभागिता रहने सांगीतिक भक्ति सभामा परिणत भएको छ। यस अभियानको उद्देश्य सामाजिक सद्भाव र आध्यात्मिक चेतना विस्तार गर्नु रहेको आयोजक बताउँछन्।
“शुरुमा हामी केही साथीभाइले मात्र भजन गाउने जमघट गरेका थियौं,” भजन समुहका एक सदस्यले बताए, “तर अहिले हरेक साता स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरू पनि आउनुहुन्छ।”
भजन कार्यक्रममा सहभागीहरुले धार्मिक गीत-संगीतमार्फत आत्मिक सन्तोषको अनुभूति गर्दै आएको बताएका छन्। यस्ता कार्यक्रमले युवाहरुमा सकारात्मक सोच र धार्मिक मूल्यमान्यताप्रति आस्था बढाएको स्थानीयवासीहरु बताउँछन्।
तस्बिर सौजन्य: विशाल रिमाल


