
काठमाडौं, ४ कात्तिक — सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको समर्थनमा प्रदर्शन गर्न उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूमाथि पोखरामा प्रहरीले बल प्रयोग गरेको छ। प्रदर्शनकारीहरूले नारा लगाउँदै निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको हो।
पानीको फोहोरा र अश्रुग्यास प्रहार पछि प्रदर्शनकारीहरू तितरबितर भएका छन्। निषेधित क्षेत्रमा प्रदर्शन गर्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलको अवस्था बनेको थियो। यद्यपि, रास्वपाका कार्यकर्ताहरूले निषेधित क्षेत्र नछोड्ने अडान कायम राखिरहेका छन्।
प्रहरीले प्रदर्शनकारीहरूलाई तत्काल निषेधित क्षेत्र खाली गर्न चेतावनी दिँदै, अटेरी गरे थप बल प्रयोग गर्न बाध्य हुने बताएको छ।
सहकारी ठगी मुद्दामा शुक्रबार काठमाडौंमा पक्राउ परेका रास्वपाका सभापति र पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोही दिन राति पोखरा लगिएको थियो। शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।
लामिछानेलाई अदालतमा उपस्थित गराउने दिन, सहकारी ठगी पीडितहरू पनि मुस्ताङ चोकमा प्रदर्शन गरिरहेका छन्।