पोखरा, कास्की — पोखरामा अवैध सुनसहित दुई व्यक्ति पक्राउ परेका छन्। भारतबाट चोरी पैठारी गरी विक्री गर्ने उद्देश्यले ल्याइएको सुनसहित उनीहरूलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये एक जना भारतीय नागरिक रहेका छन् भने अर्का नेपाली सहायकको रूपमा संलग्न रहेका छन्।
कास्की प्रहरीले शनिबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार पक्राउ पर्नेमा ४९ वर्षीय कुलदीप सिंह र रुपन्देहीका रामबहादुर विक रहेका छन्। अमृतसरका बासिन्दा सिंह सुन तस्करीको मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ भने विकलाई उनको सहयोगीका रूपमा परिचित गरिएको छ।
उनीहरूको साथबाट करिब ८२ तोला १६ लाल सुन बरामद गरिएको छ। सुनका गहना–जस्तै सुनको ढिक्का, हिरा जडित औंठी, मंगलसुत्र र सिक्री लगायतका गरगहना प्रहरीले फेला पारेको छ। कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार उक्त गरगहनाको अनुमानित मूल्य एक करोड ३० लाख रूपैयाँभन्दा बढी रहेको छ।
प्रारम्भिक अनुसन्धान अनुसार कुलदीप सिंहले फेसबुकमार्फत रामबहादुर विकसँग सम्पर्क बढाएका थिए। विकको सहायतामा उनले सुन र हिराका गरगहना पोखरामा विक्री गर्ने योजना बनाएका थिए। प्रहरी स्रोतका अनुसार विकले केही रकम पाउने आशामा उक्त कार्यमा सघाएका थिए भन्ने खुलेको छ।
सुन अवैध रूपमा भारतबाट भित्र्याइएको र यसको आधिकारिक बिल नहुँदा पोखराका सुनचाँदी व्यवसायीहरूले खरिद गर्न अस्वीकार गरेपछि प्रहरीलाई सूचना प्राप्त भएको थियो। त्यसपछि प्रहरी टोलीले निगरानी बढाएको थियो।
पोखरामा विक्री गर्न नसकेपछि सिंह बुटवलतर्फ गइरहेका बेला पोखरा–२२ पुम्दीभुम्दी क्षेत्रबाट निगरानीमा रहेका प्रहरीले गाडी चेकजाँचका क्रममा दुवै जनालाई पक्राउ गरेको थियो।
हाल दुवै व्यक्तिलाई बरामद गरगहना सहित थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, काठमाडौं पठाइएको कास्की प्रहरीले जनाएको छ। प्रहरीले यो घटनालाई संगठित सुन तस्करीको हिस्सा मान्दै अनुसन्धानको दायरा फराकिलो बनाउँदै लगेको छ।


