काठमाडौं – तेलुगु चलचित्रका सुपरस्टार अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ। डिसेम्बर ४ मा हैदराबादस्थित एक हलमा चलचित्र ‘पुष्पा २’ को प्रदर्शनका क्रममा भएको भागदौडमा सम्बन्धित रहेको भन्दै उनलाई नियन्त्रणमा लिइएको हो।

इण्डियन एक्सप्रेसका अनुसार उक्त घटनामा ३९ वर्षीया महिलाको ज्यान गएको छ भने उनका छोरा गम्भीर घाइते भएका छन्। प्रहरीको भनाइअनुसार सन्ध्या थिएटर व्यवस्थापन, अल्लु अर्जुनसहित अन्य कलाकार र सुरक्षा टोलीमाथि मुद्दा दर्ता गरिएको छ।
उक्त हलमा ‘पुष्पा २’ को विशेष प्रिमियर शो आयोजना भइरहेको थियो तर दर्शकहरूलाई पूर्वसूचना नदिइएको कारण भीड व्यवस्थापन बिग्रिएको अधिकारीहरूले जनाएका छन्।
अल्लुलाई चिक्कडपल्ली प्रहरी चौकीले शुक्रबार पक्राउ गरेको हो। उनीमाथि सोही चौकीमा मुद्दा दर्ता गरिएको थियो।
यस घटनाले तेलुगु चलचित्र क्षेत्रमा हलचल ल्याएको छ भने सुरक्षा र व्यवस्थापनमा लापरबाहीका विषयमा नयाँ बहस सुरु भएको छ।


