पर्सा — जिल्लामा घटेको एक दुःखद घटनापछि पीडित परिवारलाई राहत स्वरूप आर्थिक सहयोग प्रदान गरिएको छ। मिति २०८२/०८/२७ गते वीरगञ्ज महानगरपालिका–१० स्थित मारवाडी धर्मशालाको तेस्रो तल्लामा रहेको कोठा नं. १०४ मा भाडामा बस्दै आएकी अन्दाजी २१ वर्षीया सुनिता तामाङ मृत अवस्थामा फेला परेकी थिइन्।
मृतक सुनिता पर्सागढी नगरपालिका–३ की स्थायी बासिन्दा हुन्। घटनापछि उनको घरमा एकल महिला आमाबाहेक अन्य सहयोगी कोही नभएको र परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको पाइएको थियो। यस अवस्थालाई ध्यानमा राख्दै जिल्ला स्तरीय लैङ्गिक हिंसा संजाल समितिको कोषबाट पीडित परिवारलाई आर्थिक राहत उपलब्ध गराइएको हो।
मृतक सुनिता स्याङ्बोकी आमा कान्छीमाया स्याङ्बोलाई नगद ५० हजार ५ रुपैयाँ बराबरको चेक प्रदान गरिएको छ। उक्त चेक जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
सम्बन्धित निकायका अनुसार, पीडित एकल महिलालाई तत्काल राहत पुग्ने उद्देश्यले यो सहयोग प्रदान गरिएको हो। आगामी दिनमा पनि पीडित परिवारलाई आवश्यक सहजीकरण र सहयोग गरिने जनाइएको छ।


