
वीरगञ्ज, पर्सा ।
नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको दोस्रो पूर्ण बैठक शनिबार भव्य रुपमा सम्पन्न भएको छ। वीरगञ्जको रोयल पार्टी प्यालेसमा सम्पन्न बैठकले पार्टी संगठनलाई थप मजबुत बनाउने र सुदृढ बनाउने उद्देश्यका साथ महत्वपूर्ण निर्णयहरु पारित गरेको छ।
बैठकले वीरगञ्ज महानगरका सबै ३२ वडामा संगठन विस्तारको तयारी स्वरूप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यस अन्तर्गत वडा कमिटी पुनर्गठन र नयाँ संरचना निर्माणका लागि गृहकार्य थालिनेछ।
पार्टीको कार्यसम्पादनलाई थप व्यवस्थित बनाउन महानगर क्षेत्रलाई आठवटा इलाकामा विभाजन गरिँदै प्रत्येक इलाकामा संयोजक तोकिएको छ।
महानगर कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा वडास्तरीय अधिवेशनका लागि समितिहरू गठन गर्ने, विभिन्न जनवर्गीय संगठनहरुको नगर तहको कमिटी गठन गर्ने र आगामी साउनदेखि भदौभित्र ३२ वटै वडामा अधिवेशन सम्पन्न गर्ने कार्ययोजना तय गरिएको छ।
बैठकमा पार्टी संचालनलाई आर्थिक रूपमा सबल बनाउन प्रत्येक महिनाको नियमित लेवी संकलन गर्ने निर्णयसमेत गरिएको छ। अध्यक्ष शर्मा लगायत पदाधिकारीहरूले स्वेच्छिक रूपमा लेवी प्रदान गर्ने प्रतिबद्धता पनि जनाएका थिए।
बैठकमा एमालेका वीरगञ्ज महानगर इञ्चार्ज बिचारी यादव, पूर्व मेयर तथा सल्लाहकार विजय सरावगी, प्रदेशसभा सदस्य बिना शर्मा, पूर्व नगर कमिटी अध्यक्ष राजेन्द्र यादव, नेतृ रन्जु फुयाल लगायतले धारणा राख्दै संगठनात्मक मार्गदर्शन प्रस्तुत गरे।
बैठकमा ३२ वटै वडाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने युवा नेता जलन्धर पटेल र राकेश साहले पनि सुझावसहित आफ्नो धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव लियाकत अलीले गरेका थिए।