काठमाडौं, वैशाख २७ – भारतका विभिन्न क्षेत्रमा भएको पाकिस्तानी गोलाबारीमा पाँच जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।
भारतको प्रतिष्ठित पत्रिका ‘नेशनल हेराल्ड’ले स्थानीय प्रशासनलाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार, मानव बस्तीलाई लक्षित गरी गरिएको मिसाइल र ड्रोन आक्रमणमा एक दुई वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको हो।
जम्मु र कश्मीर क्षेत्र अन्तर्गत पर्ने पुँछ र जम्मु जिल्लामा आक्रमण गरिएको बताइएको छ। पुँछ जिल्लाको कांगा–गल्हुट्टा गाउँमा मोर्टार आक्रमणका कारण ५५ वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।
यसैगरी जम्मु जिल्लाको आरएस पुरा सेक्टरअन्तर्गत पर्ने बिदिपुर जट्टा गाउँका एक स्थानीय बासिन्दाको पनि ज्यान गएको छ। अन्य मृतकमध्ये एक जना जम्मु र कश्मीरको एक जिल्लाका प्रमुख अधिकारी राजकुमार थापा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
आक्रमणमा परी तीन जना घाइते भएका छन् भने उनीहरूलाई उपचारका लागि नजिकको स्वास्थ्य केन्द्रमा लगिएको बताइएको छ।
यद्यपि, अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले यी घटनाहरूको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको जनाएको छ।
– रासस
Cha


