काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुआती पाँच महिनामा नेपालको निर्यात व्यापारमा उल्लेखनीय वृद्धि देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात ५८ प्रतिशतभन्दा बढीले बढेको हो ।
विभागका अनुसार मंसीर महिनासम्म नेपालले १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँभन्दा बढी मूल्यका वस्तु विदेश पठाएको छ । गत आर्थिक वर्षको यही अवधिमा भने निर्यात रकम ७३ अर्ब ६५ करोड रुपैयाँमा सीमित थियो । यसले निर्यात क्षेत्रमा सकारात्मक सुधार संकेत गरेको छ ।
यस अवधिमा आयात व्यापार पनि बढेको देखिन्छ । चालु आवको मंसीरसम्म नेपालले ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ । अघिल्लो वर्षको समान अवधिमा आयात ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो । यसअनुसार आयात करिब १५।८३ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।
निर्यात र आयात दुवै बढेसँगै कुल वैदेशिक व्यापारको परिमाण पनि विस्तार भएको छ । पाँच महिनामा कुल वैदेशिक व्यापार २० प्रतिशतभन्दा बढीले बढेर ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ नाघेको छ । गत वर्षको यही अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब ३५ अर्ब रुपैयाँ आसपासमा थियो ।
तर, व्यापार घाटा भने अझै घट्न सकेको छैन । विभागका अनुसार चालु आवको पाँच महिनामा व्यापार घाटा १०।५२ प्रतिशतले बढ्दै ६ खर्ब ४६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ५ खर्ब ८७ अर्ब रुपैयाँ रहेको थियो ।
आर्थिक विश्लेषकहरूका अनुसार निर्यात वृद्धिले अर्थतन्त्रलाई केही राहत दिएको भए पनि आयातको उच्च दरका कारण व्यापार घाटा चुनौतीकै रूपमा कायम रहेको छ ।


