बैशाख २७ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँचथरको फिदिम बजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै पार्टी अब गठबन्धनको भर परेर होइन, आफ्नै बाटोमा अघि बढ्ने स्पष्ट सन्देश दिएका छन्।
पार्टीको ‘तराई–मधेस जागरण अभियान’ सन्दर्भमा आयोजित सभामा प्रचण्डले विगतमा माओवादी नेतृत्वको सरकारले सुरु गरेका विभिन्न ठूला पूर्वाधार योजनाहरूको चर्चा गर्दै तिनको सुरुआतकै क्रेडिट आफूहरूलाइ जानुपर्ने बताए। “मध्यपहाडी लोकमार्गको पूर्वी सुरुआत पाँचथरबाट भएको हो,” प्रचण्डले भने, “यो हाम्रो परिकल्पनाबाट जन्मिएको परियोजना हो।”
पूर्वप्रधानमन्त्री दाहालले अहिले देशमा देखिएको राजनीतिक अस्थिरताको कारण दलाल र बिचौलियालाई ठहर गर्दै आफू नेतृत्वको सरकारले जनपक्षीय निर्णय गर्दा अपारदर्शी शैलीमा सरकार ढालिएको आरोप पनि लगाए। “बैंकिङ प्रणाली सुधार र ब्याजदर घटाउने हाम्रो प्रयासलाई दलालहरूले अपच गर्न सकेनन्,” उनले भने, “त्यसैले रातारात सरकार फेरियो।”
उनले संविधानसम्मत प्रक्रियालाई बेवास्ता गर्दै सरकार परिवर्तन गरिएको जिकिर गर्दै अब माओवादी केन्द्र कांग्रेस वा एमालेसँग मिलेर अघि नबढ्ने घोषणा गरे। “गठबन्धनको राजनीति हामीले धेरै गर्यौं, अब हामी आफ्नै बलमा अघि बढ्छौं,” प्रचण्डले स्पष्ट पारे।
पछिल्ला निर्वाचनहरूमा पार्टीले पाएको सफलताले माओवादीप्रति जनताको विश्वास झन् मजबुत भएको प्रचण्डको भनाइ थियो। उनले स्थानीय तह, स्ववियू र पत्रकार महासंघजस्ता संस्थागत निर्वाचनहरूमा पार्टीको प्रदर्शनलाई उदाहरणीय भन्दै आगामी चुनावमा पनि एक्लै प्रतिस्पर्धा गर्ने संकेत गरे।
यस जनसभाले पाँचथरमा माओवादीको सांगठनिक सक्रियता पुनः ताजगी ल्याएको विश्लेषण गरिँदैछ।


