साउन महिनाको आरम्भसँगै वीरगञ्जका प्रमुख धार्मिक स्थलहरू—पशुपतिनाथ मन्दिर र आलखिया मोठ मन्दिरमा विशेष चहलपहल देखिन थालेको छ। विशेष गरी सोमबारको दिन शिव भक्तहरूको भीड उल्लेख्य देखिन्छ।

हिन्दू धर्मावलम्बीहरूका लागि साउन महिना शिवभक्तिको महिना मानिन्छ। यस अवधिमा शिवको आराधना र व्रत बस्ने चलन अनुसार, वीरगञ्जको यी दुई मन्दिरमा विशेष पूजाआजा र मेला लाग्ने गर्दछ।
प्रत्येक सोमबार बिहानैदेखि भक्तजन दर्शनका लागि लाममा उभिन्छन्। महिलाहरू हरियो चुरा, पहेंलो साडी र रातो टिका लगाएर व्रत राख्दै भगवान् शिवको पूजा गर्छन्। मन्दिर परिसरमा भजन, कीर्तन र विशेष पूजाका कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्।
आस्थाका साथै सामाजिक र सांस्कृतिक रौनकले पनि वीरगञ्जको वातावरण उत्सवमय बनेको छ। मन्दिर समितिका अनुसार, सुरक्षाको व्यवस्था मिलाइएको छ र भक्तजनलाई सहज रूपमा दर्शन गराउन स्वयंसेवक परिचालन गरिएको छ।
साउन महिनाभर हरेक सोमबार मन्दिरमा श्रद्धालुहरूको बाक्लो उपस्थिति रहने अनुमान गरिएको छ। स्थानीय व्यवसायीहरूका लागि यो अवसर व्यापार वृद्धिको रुपमा समेत लिइएको छ, किनकि फूल, प्रसाद, पूजाका सामग्री र खानेकुराको बिक्री उल्लेखनीय रूपमा बढेको छ।
साउनको सोमबार शिवभक्तहरूको आस्था र श्रद्धाले वीरगञ्जका यी दुई धार्मिक स्थलहरू पूर्णरूपमा जीवित बनाइरहेका छन्।


