
ANN NEWS | २०८२ असार १
पर्सा — पर्सागढी नगरपालिका–१ अन्तर्गत पर्ने पर्सा राष्ट्रिय निकुञ्जको भालुखोला फारलाइन क्षेत्रमा मानव शरीरका अंशहरू फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८२ जेठ ३० गते साँझ ५ बजेतिर निकुञ्जभित्र जनावरहरूका लागि निर्माण गरिएको पानी पोखरीमा एकवटा खुट्टा र दुईवटा हात फेला परेका थिए। त्यस्तै, सोही पोखरीदेखि झण्डै ३०० मिटर टाढा टाउकोको अस्थिपंजर भेटिएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी पटेर्वासुगौलीबाट घटनास्थलमा खटिएको टोलीले प्रारम्भिक अनुसन्धान तथा मुचुल्का तयार पारी भेटिएका मानव अवशेषहरू नारायणी अस्पताल बीरगञ्जको शवगृहमा राखिएको जनाएको छ। यद्यपि, हालसम्म मृतकको पहिचान खुलेको छैन।
कसैलाई थाहा भए सम्पर्क गर्न प्रहरीको आग्रह
प्रहरीले मृतकको नाम, थर वा वतन खुल्न नसकेको भन्दै सम्बन्धित वा चिन्ने जो–कोही व्यक्तिलाई प्रहरी कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ।
घटनास्थलमा भेटिएका सामग्री:
- निलो रंगको पुरुषले लगाउने जिन्स पाइन्ट
- सेतो फूल भएको लामो बाहुला सर्ट
- कालो प्लास्टिकको चप्पल
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ। मानव शरीरका अङ्गहरू कसरी त्यहाँ पुगे भन्नेबारे यकिन खुल्न बाँकी छ। घटनाले निकुञ्ज सुरक्षासम्बन्धी चिन्ता समेत उत्पन्न गराएको छ।