
१८ वैशाख, वीरगञ्ज (पर्सा) – पर्सा जिल्ला प्रशासनले सांस्कृतिक तथा सामाजिक कार्यक्रममा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न सख्त कदम चालेको छ। अब विवाह, व्रतबन्ध लगायतका अवसरमा प्रयोग गरिँदै आएको डिजे, पटाका र डिजेलजन्य उपकरण प्रयोगमा प्रतिबन्ध लगाइएको छ।
बुधबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको समन्वय बैठकले ध्वनि प्रदूषण नियन्त्रणका लागि ठोस निर्णयहरू लिएको हो। बैठकले आतसबाजी र पटाका प्रयोगलाई पूर्ण रुपमा निषेध गरेको छ भने रातको १० बजेपछि डिजेल उपकरण सञ्चालन गर्न नपाइने स्पष्ट पारेको छ।
प्रजिअ अर्यालका अनुसार होटल, पार्टी प्यालेस तथा क्याटरिङ सेवा प्रदायकहरूले अब विवाह वा अन्य कार्यक्रम बुकिङ गर्दा आयोजकसँग डिजे र पटाका प्रयोग नगर्ने सहमति पत्र अनिवार्य गराउनु पर्नेछ। उनले भने, “होटल तथा पार्टी प्यालेसहरूले बुकिङ गर्नुअघि यो विषयमा स्पष्ट सहमति गराउनुपर्नेछ, अन्यथा कारबाही हुनेछ।”
यस निर्णयअनुसार सीमावर्ती क्षेत्रबाट आउने पटाका तथा डिजेल उपकरणको कडाइका साथ निगरानी गरिनेछ। त्यस्तै, व्यवसायीहरूले राज्यलाई बुझाउनु पर्ने कर तथा राजस्व समयमै तिर्नुपर्ने र त्यसको निगरानी बढाइने पनि प्रशासनले जानकारी दिएको छ।
जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले विस्फोटक पदार्थ ऐनअनुसार पटाका प्रयोग गर्नेविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएका छन्। उनले भने, “सुरक्षा निकायले निरन्तर अनुगमन गर्दै यस्ता अवैध गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउनेछ।”
होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले डिजे प्रयोग व्यवस्थापन आवश्यक रहेको बताए। सिटी पार्टी प्यालेसका सञ्चालकहरूलाई डिजे नबजाउने वातावरण बनाउन स्थानीय प्रशासन र समाज दुवैको भूमिका आवश्यक रहेको उनको भनाइ छ।