पर्सा । मिटर ब्याज पीडित एक व्यक्तिले जिल्ला प्रशासन कार्यालय पर्साको अगाडि आत्मदाह गर्ने प्रयास गरेका छन्। प्रहरीको तत्पर हस्तक्षेपले उनलाई बचाइएको छ।
सोमबार दिउँसो करिब १२:३० बजे बाराको पचरौता नगरपालिका-४ का ६० वर्षीय बृजकिशोरप्रसाद साहले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। साथै, उनीसँग मुसा मार्ने विषादी समेत रहेको प्रहरीले जनाएको छ।
प्रहरीले त्वरित उद्धार गरी नारायणी अस्पताल पुर्याएको र हाल उनको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले जानकारी दिए।
ऋणको बोझले आत्मदाहको प्रयास
सीडीओ अर्यालका अनुसार साहले करिब १ लाख ५० हजार रुपैयाँ मिटर ब्याजमा ऋण लिएका थिए। ऋणको सट्टामा उनले ६ लाख रुपैयाँ बराबरको जग्गा पास गरिदिएका थिए। पछि उक्त ऋण चुक्ता गरिसकेपछि आफ्नो जग्गा फिर्ता लिन खोज्दा अस्वीकार गरिएको भन्दै साह असन्तुष्ट थिए।
प्रहरीका अनुसार मिटर ब्याजसम्बन्धी मुद्दामा छानबिन भइरहेको छ। साहले आफूलाई न्याय नमिलेको भन्दै निराश भई आत्मदाहको प्रयास गरेको अनुमान गरिएको छ।
प्रहरीले घटनाको छानबिन गर्दै
घटनापछि जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ। स्थानीय प्रशासनले पनि मिटर ब्याज पीडितहरूका समस्याहरू समाधान गर्न पहल गरिरहेको जनाएको छ।


