
३१ बैशाख, वीरगञ्ज – पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १६ अन्तर्गत नगवा स्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले वडा भित्र कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई मोबाइल फोन वितरण गरेको छ।
बुधबार सम्पन्न एक कार्यक्रमका बीच वडा अध्यक्ष पर्शुराम चौरसियाले स्वयंसेविकाहरूलाई मोबाइल हस्तान्तरण गरे। कार्यक्रम केन्द्र प्रमुख अरुण यादवको समन्वयमा सम्पन्न भएको हो।
स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख यादवका अनुसार, यी स्वयंसेविकाहरू न्यून पारिश्रमिकमा निरन्तर जनस्वास्थ्य सेवा दिइरहेका छन्। “उनीहरूको मेहनतलाई कदर गर्दै र काममा थप सहजता ल्याउन मोबाइल उपलब्ध गराइएको हो,” यादवले भने।
मोबाइल पाउने स्वयंसेविकाहरूमा सरिता देवी कर्ण, निलम साह, अनिता कुमारी, रिङ्क्की कुमारी र कल्पना बिष्ट रहेका छन्।
प्रमुख यादवले मोबाइल वितरणसँगै वडाभित्रका विभिन्न टोलहरूमा सक्रिय स्वयंसेविकासँग समन्वय र सम्पर्क अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले यस्ता प्रोत्साहन कार्यक्रमले सेवामा थप ऊर्जा दिने अपेक्षा पनि व्यक्त गरे।