बिरगंज, ५ भाद्र – पर्सा जिल्लाका विभिन्न ट्राफिक प्रहरी पोस्टहरूमा भारत–नेपाल सीमाबाट भित्रिने मालवाहक सवारीसाधनहरूलाई लक्षित गरी अवैध रकम असुली हुँदै आएको तथ्य बाहिर आएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोले ड्राइपोर्ट, परवानीपुर, पावरहाउस र गण्डक ट्राफिक पोस्टमार्फत ‘ओभरलोड’को नाममा चालकहरूसँग मासिक रकम उठाउने गरेको प्रमाण देखाएको छ।
विशेषगरी परवानीपुर ट्राफिक पोस्टमा खिचिएको दृश्यमा इन्चार्ज गोबिन थापाले राति आफ्ना जवानहरूलाई ड्युटीमा खटाई, सीमा नाकाबाट निस्किएका ट्रक तथा मालवाहक सवारी साधनहरूबाट पैसा असुल्न निर्देशन दिएको देखिन्छ।
स्थानीय स्रोतका अनुसार, यस्तो असुली प्रणाली लामो समयदेखि चल्दै आएको छ जसले गर्दा चालक र व्यवसायीहरू थप आर्थिक चापमा परेको छन्। प्रहरी प्रशासनको यस गतिविधिले जनस्तरमै ठूलो आक्रोश निम्त्याएको छ।
हालसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर, भिडियो सार्वजनिक भएपछि प्रहरी प्रशासनको कार्यशैलीमाथि प्रश्न उठ्दै गएको छ।
सबैभन्दा गम्भीर कुरा भनेको, प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार सिलवालसम्म यो गतिविधिको जानकारी पुगिसके पनि कुनै कारबाही नगरेको आरोप लगाइएको छ। यसले उनको भूमिकामाथि समेत शंका पैदा गरेको छ।
स्थानीय व्यवसायी, चालक तथा नागरिक समाजका प्रतिनिधिहरूले तुरुन्त छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। ट्राफिक व्यवस्थापन सुधार गर्ने सट्टा असुलीको माध्यम बन्न पुगेको वर्तमान प्रणालीप्रति व्यापक असन्तुष्टि देखिएको छ।


