वीरगञ्ज, असार १२ — पर्सागढी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नवलकिशोर प्रसाद कलवार प्रहरीमाथि अभद्र व्यवहार गर्दै हात हाल्न खोजे पछि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि जिल्ला अदालतले चार दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाउन अनुमति दिएको छ।
बुधवार पर्सा जिल्ला अदालत परिसरमा प्रवेश गर्ने क्रममा चेकजाँचको विषयलाई लिएर वडाध्यक्ष कलवार र सुरक्षामा खटिएका प्रहरीबीच भनाभन भएको थियो। विवाद चर्कँदै जाँदा उनले प्रहरीलाई धम्क्याउँदै हात हाल्न खोजेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरी नायब उपरीक्षक तथा कार्यालयका प्रवक्ता किशोर लम्सालका अनुसार वडाध्यक्ष कलवारको व्यवहार आपत्तिजनक र अशोभनीय रहेकाले उनलाई तत्काल नियन्त्रणमा लिइएको हो। हाल उनी श्रीपुरस्थित वडा प्रहरी कार्यालयमा राखिएका छन् र अभद्र व्यवहार सम्बन्धी मुद्दामा सोधपुछ भइरहेको छ।
प्रहरीले उक्त घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालतबाट चार दिनको म्याद लिएको जनाएको छ। सार्वजनिक पदमा रहेर समेत यस्तो अभद्रता देखाइएको प्रति स्थानीयहरू आक्रोशित छन्। “जनप्रतिनिधिबाट यस्तो व्यवहार असह्य छ,” एक स्थानीयले भने, “यसले सम्पूर्ण पर्सागढी नगरपालिकाको गरिमा गिर्छ।
”प्रहरी स्रोतका अनुसार घटनाका प्रत्यक्षदर्शीहरूको बयान पनि संकलन गरिँदैछ। अनुसन्धानपश्चात कानुनी प्रक्रिया अगाडि बढाइने जनाइएको छ।


