पर्सा — आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक भएको महालेखापरीक्षकको प्रतिवेदनले पकहाँमैनपुर गाउँपालिकामा लाखौँको आर्थिक अनियमितता उजागर गरेपछि स्थानिय युवा नेता अकलेश साह कडा रूपमा आक्रोशित भएका छन्। जनप्रतिनिधि र पालिका कर्मचारीबीचको मिलेमतोले जनताको करको रकम दुरुपयोग भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत गम्भीर असन्तोष व्यक्त गरेका छन्।
मंगलबार राति करिब ८ बजे फेसबुक लाइभ गर्दै साहले गाउँपालिकाको नेतृत्वलाई भ्रष्टाचारको केन्द्रबिन्दु बनाएको आरोप लगाउँदै भने, “मैले कुनै पनि पदमा नरहे पनि प्रदेश सरकारबाट करोडौँ बजेट ल्याएर विकास गर्न जुटेँ, तर केही तत्वहरूले विकास रोक्न षड्यन्त्र गरे।” उनले थपे, “जनप्रतिनिधिले जनताको विश्वास बेचिरहेका छन्, अब चुप लागेर बस्न सकिँदैन।”
मोबाइल खरिदमा लाखौँको खर्च, तर प्रयोग अनिश्चित
महालेखाको प्रतिवेदन अनुसार गाउँपालिकाले जनप्रतिनिधि तथा कार्यकारी पदाधिकारीहरूका लागि ४३ वटा मोबाइल सेट खरिद गर्न झण्डै १० लाख रुपैयाँ खर्च गरेको छ। प्रति सेट लगभग १९ हजार रुपैयाँका दरले खरिद गरिएका मोबाइलहरू पालिकाका अध्यक्ष सुरेश प्रसाद मेहता, उपाध्यक्ष सरफुन नेशालगायत वडाध्यक्षहरूलाई वितरण गरिएको थियो। तर प्रतिवेदनमा सो खर्च न त कानुनी रूपमा स्वीकृत छ न त औचित्य सिद्ध हुने किसिमको।
प्रतिवेदनमा भनिएको छ, “प्रयोगको प्रमाण छैन, प्रयोजन अस्पष्ट छ र नगरसभाबाट स्वीकृति पनि लिइएको छैन। त्यसैले खर्च गैरकानुनी छ।”
उपाध्यक्षमाथि दोहोरो सुविधा लिएको आरोप
उपाध्यक्ष सरफुन नेशाले सेवा प्रयोजनका लागि मोटरसाइकल उपलब्ध पाएपछि पनि महिनावारी यातायात भत्ता लिएको विषयमा समेत प्रतिवेदनले आपत्ति जनाएको छ। उनले मोटरसाइकल सुविधा पाइसकेपछि ९ महिनासम्म अतिरिक्त यातायात खर्च स्वरूप करिब १ लाख ३० हजार रुपैयाँ भुक्तानी लिएको देखिन्छ। मधेस प्रदेश सरकारद्वारा जारी विधेयक अनुसार यस्तो सुविधा दोहोर्याउनु गैरकानुनी हो र प्रतिवेदनले त्यो रकम फिर्ता लिन निर्देशन दिएको छ।
स्वास्थ्य चौकीहरूमा औषधिको चरम अभाव
साहले गाउँपालिकामा स्वास्थ्य सेवाको अवस्था दयनीय रहेको उल्लेख गर्दै भने, “सरकारले निःशुल्क दिनुपर्ने ९८ प्रकारका औषधिमध्ये अधिकांश औषधिहरू गाउँपालिकामा उपलब्ध छैनन्। यो जनस्वास्थ्यमाथिको सरासर धोका हो।” उनले थपे, “शिक्षा, स्वास्थ्य र पूर्वाधारका काममा ध्यान दिनुको सट्टा जनप्रतिनिधिहरू आफ्नै सुविधा र स्वार्थमा रमाइरहेका छन्।”
‘मिसन २०८४’ का लागि जनसमर्थन बढ्दो
उनको फेसबुक लाइभलाई हजारौँ दर्शकले हेरे र धेरैले उनलाई आगामी स्थानीय निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरे। साहको इमानदार छवि, स्पष्ट अभिव्यक्ति र विकासप्रति सक्रियता देखेर धेरै युवाहरू उनको साथमा उभिन थालेका छन्।
साहले अन्त्यमा भने, “यो कुनै व्यक्तिविशेष वा पार्टीको मुद्दा होइन, यो हाम्रो गाउँको भविष्यको कुरा हो। अब जनताले आँखा खोल्ने बेला आएको छ। भ्रष्टाचारविरुद्धको यो आन्दोलनमा सबैले हातेमालो गर्नुपर्छ।”


